इटहरी/मनोरञ्जन क्षेत्रमा कार्यरत् किशोरीलाई यौन हिंसाबाट कसरी बचाउन सकिन्छ भन्नेबारेमा यहाँ अन्तत्र्रिmया भएको छ । नागरिक वडा मञ्च र होटल व्यवसायीसँग छुट्टाछुट्टै कार्यक्रम भएको हो ।उप्का नेपालको होप परियोजनाका राम नेम्बाङका अनुसार होटल तथा रेष्टुराँमा मनोरञ्जन क्षेत्रमा काम गरिरहेका बालिका तथा किशोरीहरुको अवस्था र उनीहरुलाई हुने यौन हिंसाबाट जोगाउने विषयमा छलफल भएको थियो ।
इटहरी उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिका र वरपरका क्षेत्रका होटल, लज, रेष्टुराँ एवम् क्याबिनमा मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूको अवस्था सुधारका पक्षमा ठोस नीति कार्यान्वयनमा जोड दिइएको थियो । छुट्टाछुट्टै कार्यक्रममा इटहरीका डीएसपी नरेशराज सुवेदी, नगरपालिकाका प्रतिनिधि, जिल्ला बालकल्याण समितिका संयोजक जगदीशप्रसाद वलीसहित होटल लज व्यवसायी सङ्घका केन्द्रीय सदस्य मणिन्द्र कट्वाल, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेस विष्ट, उप्काकी टङ्कमाया लिम्बूलगायत सरोकारवालाको सहभागिता थियो ।
कार्यक्रममा उपमहानगरपालिकाद्वारा तयार पारिएको अनुगमन निर्देशिकाका विषयमा समेत छलफल भएको थियो । परियोजना कार्यान्वयनपछि इटहरी तथा वरपरका क्षेत्रका ३ सय ९० जना बालिका तथा किशोरीहरु सम्पर्कमा आएका र उनीहरुलाई परियोजनाअन्तर्गत शिक्षा दिएर आत्मनिर्भरतासम्बन्धी सीप सिकाई रोजगार बनाउनेलगायतका अभियानमा संलग्न गराइएको कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।