noteविराटनगर/नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा महङ्गी ६ दशमलव ७ प्रतिशतमा झरेर अर्थतन्त्रमा सकारात्मक अवस्था देखिएपनि भारत सरकारले ५ सय र एक हजारको नोटमा प्रतिवन्ध लगाएपछि मूल्यवृद्धि केही बढ्ने अनुमान गरिएको बताएका छन् ।

विराटनगरमा कन्काई विकास बैङ्कको ११ औं शाखा उद्घाटन कार्यक्रममा बोल्दै शिवाकोटीले भारतले आगामी अप्रिल महिनासम्म भारतीय मुद्रा सटही नगरिदिने बताएका कारण पनि भारतीय खुद्रा नोटको अभावमा सीमा क्षेत्रमा हुने आर्थिक कारोबारमा कमी भएर अर्थतन्त्रमा केही नोक्सानी हुने देखिएको बताए । भारुको पछिल्लो अवस्थाका कारण बैङ्कहरुमा तरलता देखापरेको र त्यसले गर्दा राष्ट्र बैङ्कले बैङ्कहरुमा गर्ने लगानीको ब्याजसमेत वृद्धि भएको उनले जानकारी दिए ।

आन्तरिक उत्पादन वृद्धि नभएसम्म मुलुकको अर्थतन्त्रमा सुधार आउन नसक्ने बताउँदै शिवाकोटीले कृषि, पर्यटन, उत्पादनशील क्षेत्र पहिचान गरी लगानी केन्द्रित गर्न आग्रह गरे । घरजग्गा, प्लटिङ आदि कारोबारलाई प्रोत्साहन दिन नहुने भन्दै उनले त्यसले दीर्घकालमा मुलुकलाई बेरोजगारी र आर्थिक सङ्कटतर्पm लैजानेमा बैङ्कहरु सचेत हुनुपर्ने बताए ।पछिल्लो समयमा शोधानान्तर घाटाको अवस्थामा सुधार आएर अहिले २२ अर्ब रुपैयाँ बचत रहेको भन्दै त्यसलाई विकासमा लगाउनु आवश्यक रहेको उनले बताए ।

डेपुटी गभर्नर शिवाकोटीले मुलुकको आर्थिक अवस्था चिन्ताजनक रहेको बेला आर्थिक गतिविधिलाई गतिशील बनाउन बैङ्कहरुको महत्वपूर्ण भूमिका हुने बताए ।झापा, इलाम र मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको कन्काई विकास बैङ्कले विराटनगरमा शुक्रबारबाट नयाँ शाखा खोलेको हो । बैङ्कको एघारौं शाखाको रुपमा विराटनगरबाट कारोबार शुरु गरेको बैङ्कका अध्यक्ष सेवक दाहालले जानकारी दिए ।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखाको उद्घाटन गरेका हुन् ।कूल २० करोड अधिकृत पूँजी भएको विकास बैङ्कको चालू पूँजी १२ करोड ५० लाख रुपैयाँ छ भने १२ करोड ५० लाख नै चुक्ता पूँजी रहेको कार्यकारी अधिकृत प्रकाश बज्राचार्यले जानकारी दिए ।विराटनगरमा स्थापना भएको शाखापछि नेपालमा सबै बैङ्कहरुको गरी ४ हजार ३ सय १० वटा शाखा पुगेको छ ।