ताप्लेजुङ/ताप्लेजुङको फाकुम्बामा एक घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ । फाकुम्बा ८ बस्ने ओजा हाङ लिम्बुको घरमा सोलार प्यानलबाट मोवाइल चार्ज गर्नेक्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगोले लिम्बुको घर तथा भित्रका सम्पुर्ण सामान जलेर नष्ट भएको थियो । आगलागी प्रहरी र गाउँलेको सहयोगमा पौने घण्टामा नियन्त्रणमा आएको प्रहरीको भनाई छ । उता मोरङको टंकीसिनुवारी १ स्थित सुरज यादवको हेम कवाडी पसलमा हिजो दिउँसो अचानक आगलागी हुँदा करीव पचास हजार बराबरको कवाडी सामानहरु जलेर नष्ट भएका छन । आगलागी स्थानीय प्रहरी र दमकलको सहयोगमा अपरान्ह ४ बजे नियन्त्रणमा आएको थियो ।