sichaiउर्लाबारी/पुस्तौँदेखि स्थानीयलाई दुःख दिइरहेको बक्राहा नूनसरी खोलाको नियन्त्रणमा सरकारले विशेष योजना बनाउने वचन दिएपछि पूर्वी मोरङका बासिन्दा आश्वस्त बनेका छन् ।स्थानीय बाढीपीडितको निरन्तरको दवाबपछि आइतबार सिँचाइ तथा जलस्रोत मन्त्री दीपक गिरीसहितको टोलीले स्थलगत अवलोकन गरेर विशेष योजना बनाउने वचन दिएपछि स्थानीयले आशाको सास फेरेका हुन् । ‘बक्राहा नियन्त्रणका लागि जल उत्पन्न प्रकोप व्यवस्थापन समितिले प्रपोजलका रुपमा डीपीआरसमेत तयार गरेको अवस्थामा आएको सरकारी टोलीको वचनले केही होला भन्ने आशा जगाएको छ’, बक्राहा नियन्त्रण सङ्घर्ष समितिका संयोजक मानबहादुर श्रेष्ठले भने, ‘चुरे क्षेत्रको भूक्षय नियन्त्रण गर्दै खोलाको सतहसमेत घटाउँदै गएर व्यवस्थित तटबन्ध गर्नु आवश्यक छ ।’

मन्त्री गिरीले बक्राहा नूनसरी खोलाले कटान गरेको मधुमल्ला–४ र ५ का विभिन्न क्षेत्रको अवलोकन गरेपछि स्थानीयसँग भने, ‘तपाईंहरु धेरैपटक जिल्लिनुभएको होला । तर यसपटक भने तपाईंहरु ढुक्क हुनुहोस्, बक्राहा खोलाको शिरदेखि तीरसम्मको तटबन्धका लागि सरकारले विशेष योजना ल्याउने छ ।’ अबको दुई महिनाभित्र प्रक्रिया अगाडि बढ्ने उनले बताए । उनले आपूmसँग आएका मन्त्रालय र जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयका कर्मचारीलाई स्थानीयसँगको समन्वयमा काम गर्न निर्देशनसमेत दिए ।सो अवसरमा स्थानीयका तर्पmबाट मोरङ–९ का सांसद् डिगबहादुर लिम्बूले २० वर्षअघि ओपेक परियोजनाले बनाएको सामान्य बाँध भत्किएकाले व्यवस्थित बाँध निर्माणका लागि तत्काल योजना बनाउन आवश्यक रहेको मन्त्री गिरीलाई जानकारी गराएका थिए ।

सिँचाइ तथा जलस्रोत मन्त्रालयका सचिव योगेन्द्र ठाकुरले बक्राहा नदी नियन्त्रणका लागि जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयबाट डीपीआर निर्माण गरी साढे ३ अर्ब रुपैयाँको प्रस्ताव तयार भएकाले त्यसको कार्यान्वयनमा लागिपर्ने बताएका थिए । उनले थपे, ‘खोलाजन्य वस्तु निकालेर सतह घटाउन भने राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र जिल्ला विकास समितिमा स्थानीयले नै विशेष पहल गर्नुपर्ने हुन्छ ।’ आप्mनो कार्यालयले यसमा केही गर्न नमिल्ने उनले सुनाए । बक्राहाको शिरदेखि भारतीय सीमासम्म ५६ किलोमिटर क्षेत्रमा दुवैतर्पm बाँध निर्माणका लागि जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय नं. २ विराटनगरले योजना बनाएको छ । सो योजना विभागमा पेश गर्ने तयारी छ । मन्त्री गिरीले ‘मन्त्रालयबाट छिटो स्वीकृत गरिदिने’ बताएपछि कर्मचारीसमेत जागरुक बनेको देखिएको छ । डीपीआरमा हाल बढीमा डेढ मिटर उँचाइको तारजालीसहितको बाँध ३ मिटर उँचाइमा दुवै किनारमा हुने, खोलाको बहाव सिधा पार्न च्यानल बनाउने (रिभर रिमोडलिङ गर्ने) सहितका कार्यक्रम बनाइएको डिभिजन प्रमुख डा. देवनारायण शाहले बताए । मधुमल्ला क्षेत्रमा अहिले पनि बक्राहा खोला बस्तीबाटै बगिरहेपछि सङ्घर्ष समिति संयोजक श्रेष्ठको अगुवाइमा पटकपटक डेलिगेशन गएपछि नदी नियन्त्रणमा तत्कालीन रोकथाम शुरु गर्न सरकारले यो वर्ष साढे ३ करोड रुपैयाँ विनियोजन गरेको छ । डेलिगेशनपछि ध्यानाकर्षण भएर मन्त्री गिरीसमेत स्थलगत अवलोकनमा आएका हुन् ।

विनियोजित बजेटमा समेत तत्काल रकम थप गरिदिने वचन दिँदै मन्त्री गिरीले टेण्डरको प्रक्रिया थालिहाल्न डिभिजन कार्यालयलाई निर्देशन दिए । सो रकमले हसन्दह र मधुमल्ला क्षेत्रमा तत्कालीन तटबन्धको काम गर्ने योजना छ । गत असार ७ गते राति आएको बाढीले वडा नम्बर ५ को बेतेनी र वडा नम्बर ४ को खाँबेझोडामा गरी ३ ठाउँबाट बाँध फुटाएर खोला बस्तीमा पस्दा ५० घरपरिवार विस्थापित भएका छन् । दुई सय घरपरिवार यसबाट प्रभावित छन् । गत साउन ८ गते बक्राहाको बाढी हसन्दह–३ जयनगर टोलबाट पनि पसेको थियो । करीब ४ सय मिटर बाँध फुटाएर बस्तीमा खोला पस्दा हसन्दह, अमरदह, गोविन्दपुर लगायत नेपाल–भारत सीमासम्मका सयौँ घरहरु प्रभावित छन् तर मधुमल्लामा भने खोलो फर्काउन सकेको छैन ।