काठमाडौँ/सरकारले मङ्गलबार राति दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबारको संसद् बैठक अवरुद्ध पारेको छ ।अपराह्न सवा १ बजेपछि संसद् बैठक शुरु हुनेबित्तिकै समय लिएर एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले संसद्मा पेश गरेको संविधान संशोधन विधेयकले संविधानको ठाडो उल्लङ्घन गरेको आरोप लगाए ।
उनले संसद् चल्न नदिने बताएपछि सभामुख ओनसरी घर्ती मगरले सदनको बिहीबारको कार्यसूचीमा संविधान संशोधनको विधेयक नरहेको भन्दै उठिरहेका सांसद्हरुलाई बस्न आग्रह गरिन् । तर सांसद्हरुले आफ्नो आसनबाट उठेर विरोध जारी राखे । सभामुखले शुक्रबार अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरिन् ।संसद्को बैठक शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा सभामुख मगरले गरेपछि सांसद्हरु बाहिरिन थाले ।
त्यसै बेला अघिल्लो लहरमा बसिरहेका प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच केही कुराकानी भएको थियो । त्यस बेला प्रधानमन्त्रीले ओलीलाई ‘छलफल गरौँ, वार्तामा बसौँ’ भनेका थिए । जवाफमा ओलीले ‘छलफलको त के कुरा, बोल्न त के, अनुहार पनि हेर्न मन लागेको छैन’ भन्ने जवाफ दिए ।
यसैबीच सत्तारुढ माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव संशोधन गरेर अगाडि बढ्न प्रमुख प्रतिपक्षी एमालेलाई प्रस्ताव गरेको छ । सरकारले भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्व, नागरिकता र सीमाङ्कन हेरफेरका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।माओवादी केन्द्रका सांसद् अग्निप्रसाद सापकोटाले आपूmहरु संशोधन प्रस्ताव संशोधन गरेर अगाडि जान तयार रहेको बताए । ‘तपाईंहरुसँग राम्रो प्रस्ताव छ भने ल्याउनुहोस्, त्यसले समस्या समाधान गर्छ भने अगाडि बढौँ ।’ उनले भने ।