लहान/ओरेक लहानले सिरहामा एक वर्षमा एक २५ वटा महिला हिंसाको घटना घटेको तथ्याङ्क सार्वजनिक गरेको छ । महिलामाथि हुने हिंसाका घटनाको यथार्थ र चुनौतीहरु विषयक छलफल कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
ओरेक नेपालका संयोजक निलम यादवले तयार गरेको आधारपत्रका उल्लेख भएअनुसार यस वर्ष हालसम्ममा घरेलु हिंसा १०, बलात्कार ५, बलात्कारको प्रयास ३, यौन हिंसा ६, दाइजोका कारण ३, बोक्सीको आरोप ६, हत्याको ४, बहुविवाह १०, कुटपिट ५४, मानसिक यातना २४ महिला हिंसाका घटना घटेका छन् ।
ओरेक नेपाल लहानले हालसम्म परामर्श ३४ वटा, मिलापत्र ३५ वटा, स्वास्थ्य उपचारको सहजीकरण ६ वटा, कानुनी प्रक्रियामा २३ वटा, प्रमाण नभएको ४ वटा, प्रहरी अनुसन्धान १८ वटा, अदालती ५ वटा, अंश मुद्दा १, कुटपिट मुद्दा १, बलात्कारको मुद्दा २ गरी एक सय २५ वटा घटना रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । गत साल एक सय ७२ वटा यस्ता घटना भएका थिए ।
लहान इलाका प्रहरी कार्यालयका अनुसार महिला हिंसासम्बन्धी उजुरी दिन महिला प्रहरी सेलहरु सिरहाको लहान र मिर्चैयामा समेत बिस्तार गरिएको छ । प्रहरी स्तरबाट कार्वाहीको लागि कुनै आलटाल नहुने लहान प्रहरीले जनाएको छ । कार्यक्रममा सञ्चारकर्मी, मानव अधिकारवादी र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।