ताप्लेजुङ/ नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव नेपालको प्राकृतिक एजेण्डा नभइ आयातीत भएको बताएका छन् ।कञ्चनजङ्घा हिरक महोत्सवको अवसरमा गृहजिल्ला ताप्लेजुङ आएका सचिव भट्टराईले बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै अहिलेको प्रचण्ड नेतृत्वले ल्याएको संविधान संशोधन प्रस्ताव नेपालको अग्र्यानिक नभइ अन्य बस्तु आयात गरेसरहको आयातीत एजेण्डा भएको बताए ।
विदेशी शक्तिको आडमा मधेश र पहाडको भावना भड्काउने किसिमको संशोधन प्रस्ताव आएकाले नेकपा एमालेले सो संशोधन प्रस्तावलाई अस्वीकार गरेको बताउँदै उनले अब सामान मात्र नभइ संशोधन प्रस्ताव आयातमा समेत सरकार लागेको दाबी गरे ।आयातीत एजेण्डा बोकेर प्रधानमन्त्री दाहाल एमालेसँग पनि छलफलका लागि आएको तर एमालेले अस्वीकार गरेकाले अहिले जबर्जस्ती संसदमा दर्ता गर्न लागेकाले दर्ता भएमा प्रधानमन्त्रीको निधारमा कलङ्कको टीका लाग्ने आरोप समेत भट्टराईले लगाए ।संविधानमा संशोधन गर्ने सैद्धान्तिक सन्दर्भमा एमाले विपक्षमा नरहेको बताउँदै सचिव भट्टराईले अहिलेको संशोधन प्रस्तावले राष्ट्रिय एकतालाई झनै कमजोर बनाउने भएकाले एमाले विपक्षमा उभिएको जिकीर गरे ।
सरकारले तयार गरेको संविधान संशोधन प्रस्तावले तराईको भावनालाई समेट्ने भन्दै तराईका जनतालाई अहिलेको सरकारले झुक्याएको बताउँदै उनले यो संशोधन प्रस्तावले तराई मात्र नभइ जाति–जनजातिको भावनालाई समेत भड्काउने दाबी गरे ।उनले प्रधानमन्त्री दाहाललाई आवश्यकताविहीन संशोधन प्रस्ताव दर्ता गरी देशमा साम्प्रदायिक दङ्गा भड्काउन खोजेको हो ? भन्दै प्रश्नसमेत गरे । देशको हित नहुने प्रस्ताव ल्याएर सरकारले कसको हित खोज्न लागेको भन्ने प्रश्न गर्दै सचिव भट्टराईले संविधान संशोधन प्रस्ताव दर्ता भएपनि एमालेसहित काङ्ग्रेस संसदीय दलका सदस्यहरु पनि संशोधनको विपक्षमा उभिनेमा आपूm विश्वस्त रहेको बताए । सेना तयारी अवस्थामा बस्नुपर्ने अवस्था आएको छैन एक फरक प्रसङ्गमा बोल्दै एमाले सचिव भट्टराईले मधेशकेन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै सेना तयारी अवस्थामा बस्नुपर्ने स्थिति भने नभएको बताए । जङ्गी अड्डामा मङ्गलबार र बुधबार चलेको पृतनापति समन्वयात्मक बैठकमा भएको विद्यमान परिस्थितिको मूल्याङ्कनपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीले मधेशकेन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका थिए ।