लहान/विद्युत् प्राधिकरणको लहान शाखाले विद्युत् चोरीको आरोपमा २३ जनालाई पक्राउ गरेको छ ।प्राधिकरणको लहान शाखाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा जिल्लाका बस्तीपुर, झिटकी, कमलदह, ढोढना, शोभापुर, भदैयालगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको शाखा प्रमुख माधवप्रसाद यादवले जनाए ।
उनीहरु सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरिने उनले बताए । कार्यालय प्रमुख यादवका अनुसार विद्युत् चोरीको आरोपमा कार्यालयले साउनदेखि हालसम्म ८१ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट विद्युत् मोटर, फ्रिज, टेलिभिजन, पङ्खालगायतका ५६ थान सामानसमेत बरामद गरिएको उनले जनाए । पक्राउ परेकाबाट जरिवानास्वरुप ७ लाख ९३ हजार ४ सय रुपैयाँ सङ्कलन भएको पनि उनले बताए ।