माराकेरा (मोरक्को)/संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित हुनुभएका रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले वायुमण्डलमा भएको तापमान वृद्धिका विषयमा व्यक्त गर्दै आएका धारणामा पुनःविचार गर्नुहुने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले जलवायु परिवर्तनबाट वातावरणमा आएको तापमान वृद्धिका विषयमा राख्दै आएका धारणालाई यस विषयको संवेदनशीलता र आवश्यकतालाई बुझ्दै आफ्नो पूर्व अडानलाई परिवर्तन गरी समस्याको समाधानतर्फ लाग्नु हुनेछ, बानले मङ्गलबार जलवायु सम्मेलनका विषयमा मोरक्कोमा विश्व नेताहरुलाई सम्बोधन गर्ने क्रममा बताए । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलन र वातावरणमा आएको तापमान वृद्धिसम्बन्धी सम्मेलनमा अनावश्यक अफवाह फैलाउने काम भएको भन्दै नवनिर्वाचित अमेरिकी नेता ट्रम्पले पेरिस जलवायु सम्झौतालाई ‘खारेज’ गरिनुपर्ने धारणा आफ्नो चुनावी अभियानका क्रममा बताए । तर राष्ट्रसङ्घका महासविव बानले जलवायु परिवर्तन रोक्न भएका उपलब्धिमूलक काम रोक्न नहुने भन्दै जतिसुकै स्रोत र साधनयुक्त एवम् शक्तिशाली राष्ट्र पनि जलवायु परिवर्तनको शिकार हुनुपर्ने अवस्था रहेको बताए । रासस/एपी