kisanतेह्रथुम/जिल्लामा रहेर कृषि क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै तेह्रथुममा तीनजना कृषकलाई पुरस्कृत गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले उनीहरुलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ ले सम्मान गरेको हो । पुरस्कृत हुने कृषकहरुमा तरकारीबालीमा म्याङलुङ–७ का तीलबहादुर श्रेष्ठ, अलैँचीमा खाम्लालुङ–५ का गजेन्द्र चोङबाङ र अलैँची नर्सरी उत्पादनमा लालीगुराँस नगरपालिका–५ का चक्रबहादुर कट्वाल छन् ।

उनीहरुलाई जनही १० हजार रुपैयाँ र प्रमाणपत्रबाट प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले सम्मान गरेकी थिइन् । खाद्यान्नबाली उत्पादनमा ओख्रे–५ का लोकेन्द्र बुढाथोकी प्रथम, चुहानडाँडा–९ का वेदाहाङ लिम्बू दोस्रो, ओयाक्जुङ–२ का चुडामणि ढकाल तेस्रो र म्याङलुङ–३ का सरस्वती विक सान्त्वना भएका छन् । तरकारीबाली उत्पादनमा आङ्दिम–६ का फुर्बि शेर्पा प्रथम, लालीगुराँस–१ की मिनकुमारी गुरुङ दोस्रो, म्याङलुङ–५ की सीता श्रेष्ठ तेस्रो र सङ्क्रान्ति–५ का मच्छिन्द्रबहादुर लिम्बू सान्त्वना भएका छन् ।

फलपूmलबाली उत्पादनमा लालीगुराँस–८ का मिलन बस्नेत प्रथम, म्याङलुङ–५ का रामकृष्ण निरौला दोस्रो, ह्वाकु–३ का राम सिटौला तेस्रो र म्याङलुङ–९ का लोकेन्द्र लिम्बू सान्त्वना भएका छन् । उनीहरुलाई जनही ५ हजार, ३ हजार, २ हजार ५ सय रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले जानकारी दिए ।

यसैगरी ‘भइरहेछ जलवायु परिवर्तन, गर्नु छ खाद्य र कृषिमा अनुकूलन’ भन्ने शीर्षकमा भएको निबन्ध प्रतियोगितामा म्याङलुङका सिंहवाहिनी माविका प्रदीप भट्टराई प्रथम, दीपज्योति बोर्डिङका आयुस ढुङ्गाना दोस्रो, अरनिको बोर्डिङ म्याङलुङका सिजन सुवेदी तेस्रो र दीपज्योति बोर्डिङका अर्चना लिम्बू सान्त्वना भएका थिए । उनीहरुलाई जनही २ हजार, १५ सय, १ हजार र ८ सय रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।