-
Home
-
अर्थ
-
भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र
भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र
- कार्तिक २६, २०७३
- ब्लाष्ट खबर
धनगढी/भारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि यहाँ अलपत्र परेका छन् ।
भारतको हैदरावादमा काम गर्दै आएका डडेल्धुराको दामल घर भएका अवस्थी बुधबार बिहान धनगढी पुगेका थिए ।
खल्तीमा रहेको एकहजार र ५ सयदरका नोटको गड्डी देखाउँदै अवस्थीले भने – “यी नोट सटही गर्न धनगढीका थुप्रै बैंक र व्यापारी कहाँ धाएँ, कसैले सटही गर्न मानेनन् ।”
आफूसँग नेपाली रुपैया नभएको र भारु सटही नहुँदा घर कसरी पुग्ने समस्या भएको मात्र नभई धनगढीमा खान र बस्ने समस्यासमेत भएको दुःखेसो सुनाए ।
भारतबाट फर्किएका डडेल्धुरा जिल्लाकै चेत अवस्थीले भारतीय सरकारले भारु एकहजार र ५ सय दरका नोट चलनचल्ती गर्न रोक लगाएको निर्णयबाट भारतमा कमाइ गरेर बचत गरेको भारु कागजको खोस्टो बनेकामा चिन्ता व्यक्त गरे । “भारुको नेरु सटही गर्न कसैले मान्दैनन्, अब कहाँ जाने ? उनले प्रश्न गरे ।
भारुको कारोबार रोकिँदा पीडित भएका यी दुई प्रतिनिधि पात्र मात्र हुन् । यो घटनाका कारण भारतमा काम गरी फर्किएका शैयौँ नेपाली यतिबेला धनगढीलगायतका सीमावर्ती नेपाली बजारमा अलपत्र परेका छन् ।
आफ्नो साथमा रहेको भारु १००० र ५०० दरका नोटको सटही हुने÷नहुने अन्योलता बढेपछि सीमावर्ती बजारका नागरिक मारमा परेका छन् ।
यहाँका चोक, चिया पसल, सार्वजनिकस्थलमा सर्वसाधारण र व्यापारीबीच भारु नोट सटही हुने/नहुनेबारे चर्चा गरिएको सुनिन्छ ।
सीमावर्ती धनगढीलगायतका नेपाली बजारमा भारुको र गौरीफँटालगायतका भारतीय बजारमा नेपाली रुपैयाको चलनचल्ती सहज रुपमा हुँदै आएको छ ।
यता नेपाल राष्ट्र बैंक धनगढीका प्रबन्धक विश्रुत थापाले भारुको एकहजार र ५ सय दरका नोटको कारोबारमा भारत सरकारले रोक लगाएपछि नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले बुधबारदेखि भारुका ठूला दरका नोटको कारोबारमा पनि रोक लगाएको जानकारी दिए ।
“कालोधन रोक्नका लागि भारत सरकारले यस्तो गरेको हुनसक्छ” – थापाले भने ।
राष्ट्र बैंक धनगढीबाट १०० दरको भारुको नोट सटही गर्ने काम सदा झैँ आज पनि भएको उनले बताए । रासस