दमक / आसपासको गाविसलाई समेटेर झापाको दमकलाई उपमहानगरपालिका बनाउनु पर्ने माग गर्दै विहीबार सरकारी कार्यालयमा तालाबन्दीमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।
इलाका प्रशासन कार्यालय दमकमा तालाबन्दी गर्ने क्रममा विहान ११ बजे आन्दोलनकारीमाथि अवरोध पुर्याउँदै संयुक्त आन्दोलन परिचालन समितिका संयोजक गगन पुरी, सदस्य तीर्थराज बस्नेत, नेविसंघका विद्यार्थी नेता डिकेश दहाल र माओवादी केन्द्रका प्रेम विमलीलाई दमक प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनकारीले तालाबन्दी गर्ने र प्रहरीले खोल्ने क्रममा झडप हुँदा आन्दोलितहरुकातर्फका घनेन्द्र योङ्या, दिलबहादुर बुढाथोकी, अजय अग्रवाल, रवि बस्नेत सहित घाइते भएका छन् । पक्राउ परेकाहरुको रिहाईको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय बाहिर नाराजुलुस र धर्ना गरेका थिए । नियन्त्रणमा लिएको ३ घण्टापछि अपरान्ह प्रहरीले उनीहरुलाई निशर्त छाडेको थियो ।
आन्दोलन समितिले इलाका प्रशासनका साथै मालपोत, नापी, दमक नगरपालिका लगायत दमक, लखनपुर, तोपगाछी र धरमपुरका सरकारी कार्यालयमा तालाबन्दी गरेका थिए । तर प्रहरीले बल प्रयोग गरी ताला फुटाएको थियो । ताला फुटाएपनि काम कारबाही भनें अरु दिनझैं सुचारु हुन सकेको थिएन । आन्दोलनकारीले सरकारी यातायातका साधन समेत केही मात्रामा अवरोध गरेका थिए ।
स्थानीय तह पुनर्संरचना जिल्ला प्रविधिक सहयोग समितिले आसपासका गाविस गाभेर दमकलाई उपमहानगरपालिका नबनाएको भन्दै झापा क्षेत्र नम्बर ७ का सबै राजनीतिक दलहरुले बुधबारबाट आन्दोलन थालेका छन् ।
७ नम्बर क्षेत्र अन्तरगतका दमक, लखनपुर, तोपगाछी र धरमपुरलाई समायोजन गरी दमक उपमहानगरपालिका बनाउनु पर्ने माग गर्दै ती क्षेत्रका सार्वजनिकस्थल र सरकारी कार्यालयहरुमा पहिलो दिन बुधबार कालो झण्डा गाडिएको थियो । लखनपुर क्षेत्रमा भनें त्यसअघि नै घर घरमा कालोझण्डा गाडेर जिल्ला प्राविधिक सहयोग समितिको निर्णयको विरोध जनाउँदै आएका थिए । धरमपुरलाई शिवसताक्षी नगरपालिकामा तथा लखनपुर र तोपगाछीलाई कमल गाँउपालिका गाभ्दै दमक नगरपालिकालाई साविककै नगरपालिका बनाउने प्राविधिक सहयोग समितिले निर्णय गरेको छ ।
आन्दोलनको पहिलो चरण अन्तरगत प्रधानमन्त्री, स्थानीय निकाय पुनर्संरचना आयोगका अध्यक्ष, सबै राजनीतिक दलका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको आन्दोलन निर्देशन समिति संयोजक सुरेश सुब्बाले बताए ।
दोस्रो चरणको कार्यक्रममा गाँउ गाँउमा जनतासंग अन्तरक्रिया, जन प्रर्दशन, रिले अनसन तथा तेश्रो चरणमा आमरण अनसनसम्मको कार्यक्रम रहेको जनाए । माग पुरा नभए सम्म क्षेत्र नम्बर ७ मा अत्यावस्यक सरकारी सवारी साधन बाहेक अन्य कुनै पनि सरकारी सवारी साधन सञ्चालन गर्न नदिने कार्यक्रम सार्वजनिक गरिएको छ ।
त्यसअघि दमकमा पत्रकार सम्मेलन गरी आन्दोलनका परिचालन समितिले आन्दोलनका कार्यक्रमका बारेमा जानकारी गराएको थियो । सहजता र विकासमा दर्विलोपनका लागि दमक नगरपालिकामा आसपासका उल्लेखित गाविस गाभेर उपमहानगरपालिका बनाउनका लागि सो क्षेत्रका सवैदल र स्थानीयको माग रहेको थियो । सोही कुराको सुझाव पेश गर्दा बेवास्ता गरी प्राविधिक समितिले दमकलाई मात्रै नगरपालिका बनाउने निर्णय भएपछि विरोधमा उत्रनै परेको सहभागीले बताए ।
आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ७ का इञ्चार्ज पुरीको संयोजकत्वमा सवै दलका प्रतिनिधि र स्थानीय समेटेर ५ सय १ सदस्य आन्दोलन परिचालन समिति गठन गरिएको छ ।
नेपाली कांग्रेस महासमिति सदस्य सुरेश सुब्बाको संयोजकत्वमा क्षेत्र नम्बर ७ का सबै राजनितिक दलका एक÷ एक सदस्य रहने गरी निर्देशन समिति र नेकपा एमालेका एक नम्बर प्रदेश सदस्य देवेन्द्र दहालको संयोजकत्वमा वार्ता र सम्बादका लागि राजनीतिक पहल समिति समेत गठन गरिएको छ ।
मोरङमा ५ दलको पत्रकार सम्मेलन
विराटनगर उपमहानगरपालिकामा रिङरोडभित्रका गाविसलाई समेटेर महनगरपालिका बनाउने मापदण्ड पुरा गराउने दबावका लागि विहीबार एमाले, राप्रपा, राप्रपा नेपाल, नेकपा माले, नेमकिपाले विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् । टंकीसिनुवारी, हात्तीमुढा लगायतका आसपासका मानिसहरुको सहभागितामा कार्यालयमा धर्ना, घेराउ लगायतका कार्यक्रमहरु चरणवद्ध रुपमा अगाडि बढाइने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस अघिको कार्यक्रममा सहकार्य जनाएको माओवादी केन्द्र र समाजवादी फोरम भनें यो पटकको ऐक्यवद्धतामा सामेल भएनन् । पाँच दलले रिङरोडले छोएको टंकीसिनुवारी, हात्तीमुढा, लखनतरी, बैजनाथपुर, झोराहाट, कटहरी, भागीगछ, बुधनगरलाई विराटनगरमा समेट्नुपर्ने माग राखेका छन् ।
नेपाली कांग्रेसको विराटनगर नगर नगर समितिले भनें ५ दलले भनेका गाविस पनि गाभ्नु पर्ने कुरा ल्याउन थालेको बुझिएको छ । कांग्रेसको जिल्ला समितिले रिङरोडमा पर्ने बैजनाथपुर गाविस र बुधनगरको १,३,४,५ नम्वर वडा मात्र गाभेर नगरपालिका बनाउने ढिपी गरिरहेको छ । जिल्ला प्राविधिक सहयोग समितिले पनि सोही निर्णय गरेर आयोगमा पठाएको भएपनि त्यति क्षेत्रमात्र गाभ्दा जनसंख्या नपुग्ने भएकाले त्यसखाले निर्णय झारो टार्ने र उपमहानगरमै कायम राख्ने नियत भएको आन्दोलित पक्षको ठहर छ । विराटनगरलाई महानगरपालिका बनाउन माग गर्दै नेकपा एमालेको पहलमा ‘महानगरपालिका निर्माण पहल समिति’ खडा भएको छ । पार्टीका जिल्ला सचिवालय सदस्य रामलाल साहको संयोजकत्वमा बुधबार ७ सदस्यीय समिति निर्माण गरी महानगर बनाउन पहलकदमी थाल्ने निर्णय भएको एमाले जिल्ला अध्यक्ष महेश रेग्मीले बताए । समितिले अन्यदलसँग पनि कुरा राखेर संयुक्त अभियान पहल समिति बनाउने तथा जिल्लाका सवै ठाउँमा यसबारे छलफल र अन्तरक्रिया गराउने उनले जनाए ।