भद्रपुर/विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका चार जना कार्यकर्तालाई झापाको दमकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत दमकमा विहिवार विहान ९ देखि १० बजे सम्म एक घण्टा शान्तिपूर्ण चक्काजाम गराउन हिडेको आरोपमा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला संयोजक नविन अधिकारी, पार्टी जिल्ला सदस्यहरु सुमनसिह पौडेल, पुष्प अधिकारी र लीला बजगाईलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए ।नियन्त्रणमा लिएका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।देशमा चर्को महंगीको विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चताको माग राख्दै विप्लव नेतृत्वको नेकपा माओवादी आन्दोलित बनेका छन् । पार्टीले यसै आन्दोलन स्वरुप यही कार्तिक २८ गते नेपाल बन्दको आवहान गरेको जनाएको छ ।