-
Home
-
पूर्व
-
राइस मिल सञ्चालक श्रेष्ठलाई कारबाही
राइस मिल सञ्चालक श्रेष्ठलाई कारबाही
- कार्तिक २४, २०७३
- ब्लाष्ट खबर
सुरुङ्गा (झापा)/विद्युत् चोरी गरी राइस मिल सञ्चालन गर्ने झापा खुदुनावारीका एक व्यक्ति कारबाहीमा परेका छन् ।
दुईवटा फेज मिटरबाट प्रयोगमा नल्याई खुदुनाबारीमा राजु राइस मिल सञ्चालन गर्ने राजु श्रेष्ठ (दुर्गा) कारबाहीमा परेका हुन् । श्रेष्ठबाट नेपाली विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले दुई लाख पाँच हजार ६ सय ६० रुपैयाँ जरिवाना भराएको छ । विगत लामो समयदेखि उनले खुदुनाबारीमा विद्युत् चोरी गरी मिल सञ्चालन गरेपछि उनलाई कारबाही गरिएको नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका केन्द्र प्रमुख राजीवकुमार सिंहले बताए ।
पछिल्लो समय झापाका विभिन्न स्थानमा विद्युत् प्रसारण लाइनमा अङ्कुश हाली विद्युत् चोरी गर्ने क्रम बढेको जनगुनासो बढेपछि प्राधिकरणले निगरानी बढाएको हो । तिहारअघिदेखि प्राधिकरणले विशेष अभियान नै सञ्चालन गरेर विद्युत् चुहावट नियन्त्रण कार्य सुरु गरेको र अहिलेसम्म कारबाहीबाट ६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
यसै क्रममा प्राधिकरणले मङ्गलबार शनिअर्जुन नगरपालिकाको बजार क्षेत्रबाट पानी तान्ने दुई हर्स पावरको एक थान मोटर र नौ थान विद्युत् मिटर बरामद गरेको छ । घरमा जडान गरिएको मिटरबाट पनि विद्युत् चोरिएकाले त्यस्ता मिटर बरामद गरिएको केन्द्र प्रमुख सिंहले बताए ।
यसअघि खुदुनाबारी, शनिश्चरे, चम्पापुर, सुरुङ्गा, दहीझोडा, जुकेखाडी, दुर्गापुर लगायतका क्षेत्रबाट ठूलो परिमाणमा विद्युत् मिटर, मिलमा प्रयोग गरिएका ठूला मोटर र पानी तान्ने मोटरसहित विभिन्न विद्युतीइ सामग्री बरामद गरिएको प्राधिकरणले जनाएको छ । रासस