संयुत राष्ट्रसङ्घ / नाइजेरियामा बिगतका कैयौँ वर्षदेखि हिंसा मच्चाइरहेका बोको हराम नामक आतङ्ककारी सङ्गठनको नियन्त्रणमा रहेका व्यक्तिहरु, अझ बिशेष गरी महिलाहरुको स्वास्थस्थिति अत्यन्तै नाजुक रहेको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् । राष्ट्रसङ्घका प्रवक्ताका अनुसार बोको हरामका सशस्त्र लडाकूले नाइजेरियाका विभिन्न गाउँलाई नियन्त्रणमा लिने र गाउँबासीलाई दुःख दिने गरेका छन् । तर सुरक्षा निकायहरुले तिनीहरुको राम्ररी उद्धार गर्न सकेका छैन । पछिल्लो केही समययता बोको हरामका लडाकूले उत्तरी नाइजेरियाको एक गाउँलाई पूरै कब्जामा लिई लामो समयसम्म आफ्नो नियन्त्रणमा राखेका थिए । धेरै समयपछि मात्र सरकारी सेनाले सो गाउँलाई मुक्त गरेको थियो । नियन्त्रणबाट मुक्त गरिए पनि सो गाउँका नागरिकमा सुरक्षाका साथै अन्य मानवीय सहायताको ठूलो खाँचो परिरहेको राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसिआर)ले जनाएको छ । उक्त निकायकाअनुसार महिला र बालबालिकाको सङ्ख्या उच्च रहेको सो गाउँमा खाद्यान्न र अन्य आधारभूत आवश्यकताका वस्तु पनि अत्यन्त अभाव भइ उनीहरु कष्टकर जीवन गुजार्न बाध्य छन् । सो स्थानमा रहेकामध्ये धेरैजसो नागरिक विस्थापित रहेका छन् । विस्थापितका लागि न्युनतम सुबिधायुक्त बासको पनि व्यवस्था हुन सकिरहेको छैन । उचित खाद्यबस्तुको अभावका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको छ । त्यस्तै उनीहरुमा विभिन्न खाले स्वास्थ्य जटीलता पनि देखिएको उक्त उच्चायुक्तको कार्यालयका उपप्रवक्ता फरहान हकले जानकारी दिएएए । त्यहाँ रहेका अधिकांश महिला विधवा छन् र उनीहरुका पतिलाई बोको हरामले नै हत्या गरिदिएका थिए । त्यस्तै बोको हरामले मच्चाएका हिंसाका कारण बेपत्ता भएका व्यक्तिका बाँकी परिवार पनि त्यहाँ आश्रय लिइरहेका छन् । यसरी त्यस गाउँबासीहरुको अवस्था निकै नाजुक रहेकाले खाद्यान्न, लत्ता कपडा, उचित बसोबासको बन्दोबस्त र अन्य आधारभूत न्यूनतम आवश्यकताका बस्तु व्यवस्था गर्नका लागि सबैको ध्यानाकर्षण गराएको प्रवक्ता हकले जानकारी दिए । सिन्ह्वा