फार्नबोरो (बेलायत) । बेलायतवासी नेपाली समुदायद्वारा सञ्चालित बीजीडब्लुएस रेडियो अब एन्ड्रोइड मोबाइलहरूमा पनि सुन्न सकिने भएको छ । रेडियोले आफ्नै मोबाइल एप्लिकेसन निर्माण गरे सँगै एन्ड्रोइड मोबाइलहरुमा रेडियो सुन्न सकिने भएको हो ।

बुधबार बेलुकी बेलायतको फार्नबोरोस्थित रेडियोको आफ्नै भवनमा एप्स सार्वजनिक गर्दै नेपाली दूतावासका सचिव भूपेन्द्रप्रसाद घिमिरेले संसारभरका लाखौँ नेपाली श्रोताहरू लाभान्वित हुने बताए । घिमिरेसँगै रसमोर बोरो काउन्सिलकी मेयर ज्याक्यू भोस्पेरले संयुक्त रूपमा एप्सको उद्घाटन गरे । सफ्टवेयरको निर्माणका लागि ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले सौजन्य गरेको रेडियोकी प्रशासकीय अधिकृत एवम् प्रस्तोता प्रमिला लाबुङ राईले जानकारी दिइन् ।
उनले रेडियोको छैटौँ वर्षगाँठका अवसरमा एप्स सार्वजनिक गरिएको बताइन् । रेडियोले गत सेप्टेम्बर ३० तारिखका दिन प्रसारणको पाँचौ वर्ष पूरा गरेको थियो । कार्यक्रममा रेडियो बीजीडब्लुएसका निर्देशक अवकाशप्राप्त मेजर सोनाम शेर्पाले सञ्चारलाई अझ समुदायप्रति उत्तरदायी बनाएर अघि बढाउने योजना सुनाए । सोही अवसरमा रेडियो सञ्चालनका लागि रसमोरका पूर्व मेयर मार्टिन टेनान्टमार्पmत सङ्कलित ४,३०० पाउण्ड (करिब छ लाख छ हजार तीन सय रूपैयाँ) र ग्रेटर रसमोर नेपाली कम्युनिटीबाट अध्यक्ष ओम थापाले १,२०० पाउण्ड(करिब एक लाख उनन्सत्तरी हजार दुई सय रूपैयाँ) निर्देशक शेर्पालाई हस्तान्तरण गरेका थिए ।
रेडियो बीजीडब्लुएस सन् २००६ मा स्थापना भएपनि सञ्चालन अनमुतिपत्र ढिलो गरी प्राप्त हुँदा सन् २०११ देखि मात्र नियमित रूपमा प्रसारण हुन थालेको थियो । रेडियो २४ घण्टा नै प्रसारण हुने हुँदा अनलाइनमार्पmत पनि सुन्न सकिने उनले जनाए । एप्स सार्वजनिक कार्यक्रममा काउन्सिलर डेबिड क्लिफर्ड, काउन्सिलर एलेक्स क्राउफर्ड, गैरआवसीय नेपाली महासङघका पूर्व अध्यक्ष सूर्य गुरूङ, जीआरएनसीका निवर्तमान अध्यक्ष अवकाशप्राप्त मेजर टिकेन्द्र दल देवान, आदिवासी जनजाति पत्रकार महासङ्घ बेलायतका अध्यक्ष विश्वासदीप तिगेला, संस्थापक सल्लाहकार पूर्व मेजर कुल बहादुर थापालगायत उपस्थित थिए ।