इटहरी / नेकपा एमालेको एक नम्बर प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण इटहरीमा शनिबार सम्पन्न भएको छ । प्रशिक्षण शुक्रबार शुरु भएको थियो । सो अवसरमा बडादशैँको शुभकामना आदानप्रदान समेत गरियो । प्रशिक्षणमा पछिल्लो समय पार्टीले आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि पारित गरेको १० बुँदे प्रस्तावका बारेमा बढी छलफल भएको बताइएको छ । सहभागीहरुले स्वच्छ प्रतिस्पर्धाबाट मात्रै पार्टी र मुलुक अघि बढ्न सक्नेमा जोड दिएका थिए । केही दिनअघि मात्रै पार्टी केन्द्रीय कमिटी बैठकले आन्तरिक प्रतिस्पर्धामा गुट परिचालन गर्ने नेता र कमिटीलाई कारवाही गर्नेसहितका १० बुँदे प्रस्ताव पारित गरेको थियो ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका उच्चस्तरीय नेताहरुले प्रशिक्षण दिएका थिए । पार्टी अध्यक्ष केपी ओली कार्यक्रममा आउने भनिए पनि उनी आएनन् । कार्यक्रममा सहभागी अग्रज नेताहरुले देशमा सङ्कट आइपरेको बेला पार्टीभित्र पनि विभिन्न किसिमका गुटबन्दी हाबी हुने गरेको चर्चा गर्दै मुलुकको हितमा गुटबन्दी त्यागेर लाग्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले एमालेभित्र गुटबन्दी बढेकै कारण मुलुकमा अन्य शक्तिको चलखेल बढेको धारणा राखेका थिए । गुटबन्दीले गर्दा पछिल्लो समय पार्टीको साधारण सदस्यसमेत सोचेअनुसार विस्तार हुन नसकेको उनीहरुको भनाइ थियो । पार्टी सदस्यता वितरण गर्दा पनि पक्ष हेरिने परिपाटी अन्त्य हुनुपर्नेमा सहभागीहरुको जोड थियो ।
कार्यक्रममा वरिष्ठ नेता नेपालले प्रशिक्षण दिएका थिए भने सुबास नेम्बाङले संविधानका अन्तर्वस्तु र जटिलताका विषयमा प्रशिक्षण दिएका थिए । पार्टी सङ्गठन र सरकारबारे महासचिव ईश्वर पोखरेलले प्रशिक्षण दिएका थिए । यसैगरी सचिव योगेश भट्टराई तथा सचिव एवम् प्रदेश नम्बर १ संयोजक भीम आचार्यले पनि प्रशिक्षण दिएका थिए ।
यसैगरी पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालले शुक्रबार नै पार्टीभित्रका परिसूची र हाम्रा अभिभारा विषयमा प्रशिक्षण दिएका थिए । पार्टीभित्र महिला सहभागिताबारे जयन्ती राई र प्रदेश नम्बर एकको गुरुयोजनाबारे पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले प्रशिक्षण दिएका थिए । प्रशिक्षणकै क्रममा नेताहरुले पार्टीभित्र एकताबद्ध हुँदा तानाशाही पञ्चायती व्यवस्था निर्मुल पार्ने र २०४६ सालको आन्दोलन सफल पार्ने काम गरेको स्मरण गर्दै पार्टीलाई एक ढिक्का बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे । एमाले एक ढिक्का भएर अघि बढेमा अग्रगामी दिशातर्पm अघि बढ्ने र अब हुने स्थानीय, प्रदेश र केन्द्र स्तरका तीनवटै चुनावमा वर्चस्व रहने उनीहरुको निष्कर्ष थियो । एमालेले भारत–चीनबीच सन्तुलित सम्बन्ध अनि राष्ट्रको अग्रगतिमा लागेका कारण अन्य पार्टीलाई जलन भएको उनीहरुको भनाइ छ । दुई दिनसम्म चलेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रदेश नं. १ अन्तर्गत पर्ने १४ जिल्लाका नेतृत्वसहित पदाधिकारी तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको एमालेले जनाएको छ ।