सोल (दक्षिण कोरिया)/उत्तर कोरियाद्वारा शुक्रबार गरेको पाँचौँ आणविक परीक्षणको विश्वका नेताद्वारा निन्दा भएको छ । उत्तर कोरियाले गरेको आणविक परीक्षणलाई लिएर अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा विदेशमन्त्री जोन केरी, जापानी प्रधानमन्त्री सिन्जो आवे, दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हे, फ्रान्सका विदेशमन्त्री जाँ मार्क आयरुट, र नर्वेली विदेशमन्त्री ब्रोज ब्रेन्डलगायतका विश्वका नेताले निन्दा गरेका छन् । अमेरिकी राष्ट्रपति ओबामाले अमेरिकाले उत्तर कोरियालाई आणविक राष्ट्रका रुपमा कहिल्यै पनि स्वीकार गर्न नसक्ने बताउँदै उत्तर कोरियाविरुद्ध थप कडा एवम् महत्वपूर्ण कदम चाल्ने बताए । उनले थप नयाँ किसिमका प्रतिबन्ध पनि उत्तर कोरियाले सामना गर्नुपर्ने बताए । उत्तर कोरियाले शुक्रबार पाँचौँ आणविक परीक्षण गरेपछि जापानी प्रधानमन्त्री आवे तथा दक्षिण कोरियाली राष्ट्रपति पार्कसँग टेलिफोन वार्ता गरेकाे बताइएको छ । उक्त अवसरमा राष्ट्रपति ओबामाले आफू जापान तथा दक्षिण कोरियासँग सहकार्य गर्दै उत्तरका यस्ता गतिविधिलाई सामना गर्ने बताएको थियो । उत्तर कोरियाले गरेको आणविक परीक्षणको रसियाले पनि निन्दा गरेको छ । रासस/एपी