धरान/उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको ७८ वर्षको उमेरमा गत शुक्रबार राति निधन भएको छ ।गत अगष्ट २७ का दिन राष्ट्रपति इस्लामलाई हृदयाघात भएपछि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको निधन भएको उज्बेकिस्तानको सरकारी स्रोतले पुष्टि गरेको छ ।

उज्बेकिस्तानको एउटा प्राचीन नगर समरकाण्दमा सन् १९३८ को जनवरी ३० का दिन जन्मेका इस्लामले युवावस्थामा तास्कन्दकै सेन्ट्रल एसियन पोलिटेक्निक एण्ड दि तास्कन्द इन्स्टिच्युट अफ नेशनल इकोनोमिमा मेकानिकल ईन्जिनियरिंग र अर्थशास्त्र बिषयमा स्नातक उपाधि हासिल गरेका थिए।
अध्ययन पश्चात् उनले विमान उत्पादन गर्ने एउटा कम्पनी समूहमा मेकानिकल ईन्जिनियरको पदमा केही वर्षसम्म काम गरे।
राजनीतिप्रति झुकाव रहेका कारण सन् १९६६ मा इन्जिनियरको जागिर छाडी तत्कालिन सोभियत संघको कम्युनिस्ट पार्टीमा आवद्ध भै निरन्तर लाग्दालाग्दै राज्यस्तरको उच्च नेताको तहसम्म पुगी आफ्नो राजनीतिक चरित्र निर्माण गरे।
राजनीतिक चरित्र निर्माणकै क्रममा सन् १९८९ को जुन महिनामा पछि उनले उज्बेकिस्तान कम्युनिस्ट पार्टी केन्द्रिय समितिको प्रथम सचिबको दायित्व वहन गरेको एक वर्षभन्दा कम समयावधि १९९० मार्च २४ मा उनी उज्बेक सोभियत सोसलिस्ट रिपब्लिकको राष्ट्रपति पदमा निर्वाचित भए।
तत्कालिन सोभियत संघ अन्तर्गत रहेको देशको सर्वोच्च नेताको हैसियतमा उनले सन् १९९१ अगस्ट ३१ का दिन उज्बेकिस्तान एक स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र भएको घोषणा गरे तथा उज्बेकिस्तान पिपुल्स डेमोक्र्याटिक पार्टीको स्थापना गरी त्यसको सर्वोच्च नेतामा चयन पनि भए।
सोही वर्ष सम्पन्न आम निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उनी स्वतन्त्र उज्बेकिस्तानको प्रथम राष्ट्रपति पदमा निर्वाचित भए। सन् १९८९ को मध्यतिर तत्कालिन सोभियत संघ टुक्रिएपछि उज्बेकिस्तान कम्युनिस्ट पार्टीले सोभियत संघ आबद्ध राजनीतिक सम्बन्ध समाप्त भएको घोषणा गरेको थियो ।
उज्बेकिस्तानको संबिधान अनुसार यस्तो अवस्थामा तीन महिना भित्र राष्ट्रपतीय निर्वाचन सम्पन्न गर्नु पर्नेछ । नयाँ राष्ट्रपतिको चयन नभएसम्मका लागि राष्ट्रपतिले सम्हाल्दै आएका अभिभारा सर्वोच्च राज्यसभाका प्रमुख सिनेट निग्मातुल्लाह युल्दासेभले अस्थायी रुपमा वहन गर्नेछन्।
(एजेन्सी)