भद्रपुर/ भारतको ७० औ स्वतन्त्रता दिवसलाई मध्यनजर गरी एक सातादेखि एसएसबीले सिमा क्षेत्रमा सुरक्षा सर्तकता कडा बनाएको छ ।झापाको खुल्ला सिमावर्ती क्षेत्रसंग जोडिएको नाकामा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले सुरक्षा सर्तकता कडा बनाएको हो ।

(सोमबार) १५ अगस्टका दिन भारतको स्वतन्त्र दिवस परेकाले झापाको भद्रपुरसंग जोडिएको गलगलिया र काकरभिट्टासंग जोडिएको पानीटंकी दुई मुख्य नाकामा विशेष सुरक्षा सर्तकता बढाएको भारतीय सिमा सुरक्षा बलले जनाएको छ । यो नाकाबाट दिनहु हजारौ नागरिक आवतजावत गर्नूका साथै करोडौ मुल्य बराबरको सामान आयात निर्यात हुन्छ । सोमबार १५ अगस्टको दिन परेकोले आइतबार राती ८ बजेदेखि सोमबार बेलुका ४ बजे सम्म बोर्डर शिल गरिने सिमा सुरक्षा बलले जनाएको छ ।
सिमा सुरक्षा बलका अनुसार भद्रपुर–गलगलिया बोर्डरदेखि झापाको खजुृरगाछी सिमा सम्म २१ घण्टा बोर्डर शिल गरिने छ भने काकरभिट्टा–पानीटंकी बोर्डरबाट नागरिक आवतजावतलाई छुट दिने तर कुनै सरसामान आयात निर्यात नगरिने जनाएको छ । पानीटंकीमा आवतजावत सहज बनाएपनि एसएसबीले चेकजाँच कडा पार्ने छ ।
विश्वमा बढ्दो आईएस आतंकबादी हमला, भारतसंग जोडिएको छिमेकी राष्ट्र नेपाल र बंगलादेश बोर्डरबाट राष्ट्र विरोधी समूह प्रवेश गर्न सक्ने भनि भारतीय सरकारले निर्देंशन जारी गरेपछि एसएसबीले सुरक्षा सर्तकता बढाएको बुझिएको छ । १९ बटालियन एसएसबीका एसपी राजीव मिश्राका अनुुसार सिमामा तैनाथ एसएसबी जवानलाई सुरक्षा कडा पार्नुका साथै आवातजावत गर्ने नागरिकलाई चेकजाँच गर्न निर्देशन दिइसकेको बताए ।
भारतको स्वतन्त्रता दिवस सफल बनाउन सिमाका एसएसबी हाई अलर्ट रहेको एसपी मिश्राले बताए । यसअघि १५ अगस्टकै सुरक्षा सर्तकता बढाएको बेला पानीटंकी क्षेत्रबाट सन् २०१४ मा आइएमका मुख्य आरोपी तहसीन अख्तरलाई सुरक्षाकर्मीले पक्राउ गरेको थियो ।