इलाम / भारतीय बजार हुँदै नेपाल भित्रिएको कम गुणस्तरको अलैंची मिसावटका कारण नेपाली अलैंची बजार समस्यामा पर्न थालेको छ । नेपाल–भारत खुल्ला सीमा नाका हुँदै नेपाली बजारमा भित्रिने कम गुणस्तरको अलैंची केहि व्यापारीले नेपाली अलैंचीमा मिसावट गरी बेच्ने गरेका कारण विश्व बजारमा पहिचान बनाइसकेको नेपाली अलैंचीको गुणस्तरमै शंका सिर्जना गराउन थालेको स्वयम् व्यापारीहरु नै बताउँछन् ।

alaichi

अलैंची व्यवसायी महासंघ इलामका अध्यक्ष विजय खाकी इलाममा कम गुणस्तरको विदेशी अलैंची नदेखिए पनि झापाको विर्तामोडलगायतका ठूला बजारहरुमा नेपाली अलैंचीमा कम गुणस्तरको अलैंची भेटिएकाले मिसावटको समस्या सञ्जालकै रुपमा भइरहेको हुनसक्ने बताउँछन् । भारतको नयाँदिल्ली, लाओस, चीन, भियतनामलगायतका देशहरुबाट नेपाल–भारत खुल्ला सीमा नाका हुँदै कम गुणस्तरको अलैंची ल्याएर नेपालमा उत्पादित अलैंचीमा मिसाएर बेच्ने गरिएको चर्चा महासंघ आवद्ध व्यवसायीमा छलफल समेत भएको जानकारी दिंदै विजय खाकी भन्छन्–‘पाँच सय रुपैंयाँ प्रतिकिलोमा पाइने गुणस्तरहिन अलैंची मिसाएर वेच्ने केहि व्यवसायीको गलत मनसायले नेपाली अलैंचीको बजारलाई बद्नाम गराउने खतरा देखियो ।’

भारत हुँदै नेपाल आई पुग्ने यस्तो अलैंचीको स्वाद खल्लो हुने जनाइएको छ । नेपाली अलैंची प्रतिकिलो दुई हजारसम्ममा विक्री हुने हुँदा यसमा मिसावट गर्दा व्यापारीलाई बढी मुनाफा आउने भएकाले पनि गलत प्रवृतिका केहि व्यापारीहरु नेपाली अलैंचीको पहिचानलाई बद्नाम गर्दै लाभ लिइरहेको खाकी बताउँछन् । उनले भने–‘अलैंचीको ठूलो बजारमा मिसावटको हल्ला व्यापक बन्दैछ तर, गलत मनसाय राख्ने व्यापारीकै गलत कारोबारको पोल खुल्दै जाला ।’

विगतमा अलैंचीको छोडाएको दाना महँगो मूल्यमा विक्री हुने गरेको भए पनि मिसावटकै कारण विक्न छोडेको व्यापारीहरु बताउँछन् । अलैंचीको दानामा अलैंचीको दाना जस्तै देखिने जङ्गली विरुवाको दाना ‘चुरुम्फो’ मिसावट गरिएको पाइएपछि ठूलो व्यापारीले दाना अलैंची किन्न छोडेको खाकीले जानकारी दिए । विगतमा प्रतिमन झण्डै दुई लाख रुपैंयामा विक्दै आएको अलैंचीको दानाको किनबेच अहिले ठप्प भएको छ । भारतीय बजार हुँदै आउने कमसल गुणस्तरको अलैंची मिसावटपछि नेपाल ठूला बजारलगायत पुनः भारत, वंगलादेशलगायतका बजारमा विक्रीका लागि पुग्ने गरेको जनाइएको छ । तर नेपालमा सबैभन्दा बढी अलैंची खेती हुने ताप्लेजुङ्ग, पाँचथर, इलामलगायतका जिल्लामा अहिलेसम्म मिसावट नपाइएको अलैंची व्यवसायी महासंघ इलामका महासचिव कृष्ण पौड्याल बताउँछन् ।