काठमाण्डौ/दोस्रो पटक गणतन्त्र नेपालको प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड बारम्बार मुलुकले सम्झन लायक काम गर्ने बताइरहेका छन् । केपी ओलीको सरकारले समृद्ध नेपालको परिकल्पना अनुसार काम गर्ने दाबी गरिरहँदा प्रधानमन्त्री प्रचण्डले नै अविश्वासको प्रस्ताव पेश गरेर तत्कालीन सरकार ढाले ।

तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि बीस वर्षसम्म उनकै दृष्टिकोणमा पार्टीहरु हिँडिरहनु पर्ने दाबी गरेका थिए । ओलीकै सरकारको समृद्धिको रटान प्रचण्ड सरकारले पनि दोहोर्याइरहेको छ । संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माणलगायतको विषय प्रचण्ड सरकारका प्राथमिकतामा परेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार कास्कीको ढिकुरपोखरी–काठमाडौँ समाजले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, भूकम्पपछिको पुनःनिर्माणलगायतका महत्वपूर्ण कार्यभार रहेकाले ती काम पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
पहिलो पटक प्रधानमन्त्री बन्दा उल्लेखीय काम गर्न नसकेको र त्यसबेलाका कमिकमजोरीको आत्मालोचना गरिरहेका प्रचण्डले जनताले युगाँैसम्म सम्झनलायक काम गर्ने संकल्प लिए । ‘अघिल्लोपटक नौ महिनामा नै सरकार छोड्नुपर्ला भन्ने लागेको थिएन, त्यसैले समयमा धेरै काम गर्न सकिएन, तर यसपटक राष्ट्र र जनताले युगाँैसम्म सम्झनलायक काम गर्छु र मुलुकलाई एकताबद्ध बनाएर लैजान्छु ।’
केके छन् त सरकारका प्राथमिकता ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकले आर्थिक समृद्धिको खाका खोजिरहेको बताउँदै त्यसमा परिणाममुखी काम गर्ने जनाएका छन् । उनले यस काममा सबैको सहयोगको पनि अपेक्षा गरे ।
प्रचण्डले संविधानमा असन्तुष्टि जनाउँदै आएका दलको सहमतिमा संविधानको संशोधन, कार्यान्वयन, तीनवटा निर्वाचन सम्पन्न, सार्वजनिक सेवाको प्रभावकारिता र समृद्धि सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।
भने, ‘मुलुकले आर्थिक समृद्धिको खाका खोजेको छ, त्यसका लागि परिणामुखी काम गर्ने पक्षमा छु ।’ प्रचण्डको जन्म गाउँ ढिकुरपोखरीमा स्थानीयले पोलिटेक्निकल कलेज, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए । प्रचण्डले समेत यस कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।