वासिङटन/आतङ्कवादलाई नियन्त्रणमा गर्ने क्लिन्टनको अभिब्यक्ति बोलाइमा मात्र सीमित हुन्छ भन कदापी मिल्दैन । यो प्रष्ट छ बाराक ओबामाको पहिलो कार्यकालमा विदेश मन्त्रीको जिम्मेवारी सफलतापूर्वक निभाउनु भएकी क्लिन्टनले ओबामाको हरेक विदेश नीतिको समर्थन मात्र होइन कि त्यसलाई सफल बनाउने काममा निकै प्रयत्न गर्नुभएको थियो । अफगानिस्तानमा नेटो सेनाको निरन्तरता, लिबियामा कर्णेल गद्दाफि माथिको कारबाही, मध्यपूर्वी राष्ट्रहरुको प्रजातन्त्रका लागि भएको आन्दोलनमा समर्थन, अल कायदाका नेता ओसामा बिन लादेनमाथिको कारबाहीलगायत यस्ता कैयौँ अमेरिकी नीतिमा हिलारीको बलिष्ठ सहयोग रहेका कारण यी सब सफल भएका थिए ।

hilary संयुक्त राज्य अमेरिकाका ४२औँ राष्ट्रपति बिल क्लिन्टनकी धर्मपत्नी तथा सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम महिला रहेकी हिलारी समाज सेवामा ब्यस्त रही आफ्नो निजी जीवनलाई सन्तुलित बनाई ख्याति आर्जन गर्न सक्ने महिलाको रुपमा पनि परिचित हुनुहुन्छ । उहाँ सन् २००० को नोभेम्बर ७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको सिनेटरका रुपमा निर्वाचित भई सन् २००१ देखि २००९ को सुरुवातसम्म न्युयोर्क राज्यको सिनेटरको जिम्मेवारी बहन गर्नुभएको थियो । सो निर्वाचनको ठीक १६ वर्षपछि अमेरिकाको, अझ उदार शब्दमा भन्ने हो भने विश्व कै सर्वोच्च पदका लागि अर्काे महानिर्वाचन प्रतिस्पर्धामा उभिनुभएको छ । वास्तवमा उहाँको सक्रिय राजनीति त्यही सिनेटर पदसँगै सुरु भएको हो । त्यसपछि, वर्तमान राष्ट्रपति बाराक ओमाबाको पहिलो कार्यकालमा अर्थात् सन् २००९ को जनवरी २१ मा अमेरिकी विदेशमन्त्रीको जिम्मेवारी पाई सन् २०१३ सम्म त्यसलाई उत्कृष्टतापूर्वक बहन गर्न सफल हुनुभएको थियो । पदीय दायित्वका हिसाबले अमेरिकी विदेशमन्त्रीको पद अत्यन्त जटिल र चतुरताका साथ सम्हाल्नु पर्ने र मर्यादाका हिसाबले यस पदले अन्यभन्दा सदैब उच्च स्थान ओगट्ने गरेको छ । उहाँले विदेशमन्त्रीको हैसियतले अमेरिका बाहिर भ्रमणमा गएका बखत त्यहाँको समस्या सुल्झाउने अभिप्रायका लागि गर्नुभएको कतिपय प्रयास अमेरिकी इतिहासको रेकर्डलाई नै तोड्ने खालका थिए । यसरी लामो समयसम्म गरिमामय पद सम्हालेर क्रान्तिकारी र उत्कृष्ट कार्य सम्पादन क्षमता र शैलिको प्रदर्शन गर्नु भएकीले उहाँ अमेरिकाको एकजना प्रभावशाली र मेधावी महिला नेत्रीको रुपमा पनि परिचित भई आम अमेरिकी नागरिकबाट मनग्ग्य प्रशंसा बटुल्नु भएको थियो । अहिले पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि औपचारिक उम्मेदवार भएपछि मात्र होइन कि यस अघि पनि क्लिन्टनले अमेरिकाको ६७औँ विदेश मन्त्रीको पदभार उत्कृष्टतापूर्वक सम्हालेका अवधिमा राष्ट्रपति ओबामाले मुक्तकण्ठले सार्वजनिकरुपमा प्रशसा गर्दै आउनुका साथै पटकपटक उहाँकै अबिरल मेहनतबाट आफूलाई सफलता प्राप्त भएको टिप्पणी पनि बारम्बार गर्दै आउनुभएको छ । त्यसो त अमेरिकी वर्तमान राष्ट्रपति बाराक ओबामाकै पहिलो कार्यकाल अघि हुन लागेको निर्वाचनमा उहाँले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नुहुने चर्चा चलेको थियो । तर पार्टीका बुद्धिजीवि विश्लेषकहरुले सायद त्यस पटक कालो वर्णका नेतालाई शासनको बागडोर सम्हाल्न दिनु उचित ठानेरै होला बाराक ओबामालाई अघिसारेपछि क्लिन्टनको कदम फिर्ता भयो । यही कारण नै पहिलो कार्यकालमा राष्ट्रपति बाराक ओबामाले उहाँलाई विदेशमन्त्री बनाउनुभएको थियो भन्ने चर्चा छ । यसअघि लामो समयसम्म आफूलाई सुम्पेका भूमिका तथा दायित्वहरु क्लिन्टनले सफलतापूर्वक निर्बाह गर्नु भएको सवैले प्रत्यक्ष देखिसकेका छन् । विश्वकै शक्तिशाली राष्ट्रको राष्ट्रपति हुने रोलक्रममा नजिकै उभिनु भएकी हिलारी यस पदका लागि योग्य रहनुभएको कथन आज राष्ट्रपति ओबामाको मात्र होइन, अपितु विश्वका प्रायः बुद्धिजीविहरुको भनाइ रहेको छ । आगामी नोभेम्बर ८ मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा उहाँको विजयको कामना गर्दै निर्वाचित भएपश्चात् पहिला पहिला जस्तै अमेरिकी राष्ट्रपति जस्तो गरिमामय पदको दायित्व र नेतृत्व पनि उत्कष्टता पूर्वक निभाउन सफल हुनुहुने छ भन्ने सबैले अनुमान गरिरहेका छन् । विश्व राजनीतिमा आफूलाई सधैँ अब्बल दर्जामा राख्न चाहने देशले पहिलो महिला राष्ट्रपति पाउने यस अवसरलाई सम्मान गर्नेछ भन्ने पनि सम्पूर्ण विश्वको चाहना रहेको छ । (रासस÷विभिन्न एजेन्सीहरुको सहयोगमा)