फिदिम/ सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवाखोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई २० करोड घाटा लागेको निर्माण कम्पनिले जनाएको छ ।

२०७२ वैशाख १२ गते आएको महाभूकम्प, त्यसपछिको अघोषित भारतीय नाकाबन्दी र स्थानीयबासीको अवरोधका कारण निर्माण कम्पनिलाई त्यतिको घाटा लागेको बताइएको छ । आयोजनाको निर्माण कम्पनि माउन्टेन हाइड्रो प्रा.लि. नेपालका अध्यक्ष सिताराम तिम्सिनाका अनुसार महाभूकम्प र त्यसपछिको सयौं पराकम्पका कारण आयोजनाको काम प्रभावित बनेको हो ।
त्यस्तै लामो समयसम्म कायम रहेको भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ सँगै अन्य आवस्यक सामग्री आपूर्तिमा समस्या हुँदा गत वर्षको भदौ महिनादेखि बन्द भएको आयोजनाको काम फागुन महिनादेखि मात्र सूचारु भएको अध्यक्ष तिम्सिनाले बताए । यता विभिन्न माँग राख्दै स्थानीयबासीले गरेको अवरोधका कारण पनि करोडौं घाटा व्यहोर्नु परेको उनको भनाई छ ।
२०७१ मंसीर देखि सुरु भएको आयोजनाको काम दुई वर्ष भित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । हाल ५३ सय मिटर टनेल मध्ये ४० सय मिटर टनेल निमार्ण भइसकेको छ । बाँधको कार्य ५० प्रतिशत सकिएको छ । अबको नौ महिना भित्रमा पावर हाउस निमार्ण कार्य सम्पन्न हुनेछ । काममा कुनै अवरोध नआए त्यसको दुई महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने प्रा.लि.का अध्यक्ष तिम्सिनाले बताए । प्राइम बैंक र माउन्टेन हाइड्रो प्रा.लि. नेपालको ३ अर्व ६६ करोड लगानिमा सुरु भएको आयोजना सम्पन्न भएपछि २१ मेगावट विद्युत उत्पादन हुनेछ । तर आयोजनाको लागत थप २० करोड बढेको छ ।
आयोजनाबाट फिदिम नगरपालिकाको वडा नम्बर ४, ५ र नांगीन गाविसको वडा नम्बर १ का स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित छन् । आयोजनाको काम सुरु हुनभन्दा अगाडि कम्पनिले स्थानीयबासी सँग १० बुँदे सम्झौता गरेको थियो । तर कम्पनिले सम्झौता अनुसार सिंचाई, पीउने पानी आदिको व्यवस्था गर्न अटेर गरेको भन्दै स्थानीयले आयोजनाको काममा अवरोध पु¥याउँदै आएका छन् ।
आयोजना निर्माणको क्रममा फिदिम–४, स्थित डाँडा सामुदायिक वन, फिदिम–५, स्थित देउराली सामुदायिक वन र स्थानीयबासीको गरी १२ हेक्टर जग्गा अतिक्रमण भएको छ । कम्पनिले उक्त जग्गाको मुआब्जा अझै पनि उपलब्ध नगराएको स्थानीय सरोकार समितिका अध्यक्ष प्रेम प्रसाद लिम्बूले बताए । कम्पनिले स्थानीय सँग गरेको १० बुँदे सम्झौता इमानदारिताका साथ पूरा नगरे अझै आयोजनाको काम प्रभावित हुने अध्यक्ष लिम्बूको भनाई छ ।