अम्मान/ देशको गुप्तचर विभागका ५ जना सदस्यहरुको हत्या गरेको आरोपमा जोर्डनको राष्ट्रिय सुरक्षा अदालतले आज एकजना व्यक्तिलाई मृत्युदण्डको सजायँ सुनाएको सरकारी समाचार संस्था पेट्रा न्युज एजेन्सीले जनाएको छ । राजधानी अम्मानको उत्तरी इलाकामा अवस्थित बाका शरणार्थी शिविरनजिकै रहेको राष्ट्रिय गुप्तचर कार्यालयमा गत जुन महिनामा भएको आतंककारी आक्रमणमा परी ३ जना गुप्तचर अधिकृत, एक जना सुरक्षा गार्ड र एकजना कार्यालय सहयोगी समेत पाँचजना मारिएका थिए । घटना पश्चात् एकजना आतङ्ककारीलाई पक्राउ गरी थुनामा राखिएको थियो । खाडीका मित्रराष्ट्रहरु मध्ये संयुक्त राज्य अमेरिकाको नजिक मानिने इस्लामिक राष्ट्र जोर्डनले सशस्त्र आतङकवादी आक्रमणकारीलाई मुलुकभित्र छिर्न नदिन सक्दो प्रयास गर्दै आएको जनाइएको छ । रासस/सिन्हवा