इटहरी / इटहरी धरान उपमहानगरपालिका र इनरुवा नगरपालिका क्षेत्रका विद्युत् कार्यालयबाट जिल्लाका विभिन्न स्थानका विद्युत् उपभोक्तालाई विद्युत् उपभोग गर्न दिएबापत वार्षिक सरदर रु एक अर्ब पाँच करोड ६९ लाख ६० हजार राजस्व सङ्कलन हुँदै आएको छ । इटहरी र धरान उपमहानगरपालिका तथा इनरुवा नगरपालिकाले जिल्लाका ९७ हजार ग्राहकबाट राजस्व सङ्कलन हुँदै आएको छ । इटहरी वितरण केन्द्र एक्लैले रु ६४ करोड १९ लाख ६० हजार महसुल उठाउने गरेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा ४३ हजार ग्राहक रहेका इन्जिनियर रीतेश झाले जानकारी दिए । धरान उपमहानगरपालिका क्षेत्रका २६ हजार विद्युत् उपभोक्ताबाट वार्षिक रु ४० करोड महसुल उठ्दै आएको लेखा अधिकृत तारा दाहालले जानकारी दिनुभयो । त्यस्तै इनरुवा विद्युत् प्राधिकरणले वार्षिक २८ हजार ग्राहकबाट रु एक करोड ५० लाख विद्युत् महसुल सङकलन गर्ने गरेको इन्जिनियर विनोद अधिकारीले बताए । यी तीनवटै कार्यालयले सडकबत्ती प्रयोगबापत रु २० करोड १६ लाख १८ हजार बक्यौता असुल गर्न बाँकी रहेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा सडकबत्तीको बक्यौता रु एक करोड ७८ लाख १८ हजार, इनरुवा शाखाले रु आठ करोड तथा धरान उपमहानगरपालिका क्षेत्रमा रु चार करोड ४० लाख तथा अन्य ग्राहकबाट रु दुई करोड बक्यौता रकम असुल गर्न बाँकी रहेको छ ।