धरान/प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले छाडेका मन्त्रालयमा मन्त्रीलाई थप नयाँ जिम्मेवारी प्रदान गर्नुभएको छ । माओवादी केन्द्रका आठ मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्रीले भएका मन्त्रीलाई थप जिम्मेवारी दिनुभएको उहाँका राजनीतिक सल्लाहकार विष्णु रिमालले राससलाई जानकारी दिनुभयो प्रधानमन्त्री ओलीले संविधानको धारा २९८ बमोजिम आफूसहित अन्य मन्त्रीलाई थप कार्यभार दिनुभएको र नयाँ जिम्मेवारी दिइएको पत्र आजै राष्ट्रपति कार्यालय पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नयाँ जिम्मेवारीअनुसार प्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लिनुभएको छ । mantralaya उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहनुभएका विजयकुमार गच्छदारले वन तथा भू–संरक्षण, रक्षामन्त्री भीमबहादुर रावलले गृह, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा, श्रम तथा रोजगारमन्त्रीले आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेललाई शिक्षा, भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार शुब्बालाई सिँचाइ र पशुपक्षी विकासमन्त्री शान्ता मानवीलाई कृषि विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि माओवादी केन्द्रकातर्फबाट उपप्रधानमन्त्री र ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित टोपबहादुर रायमाझीको नेतृत्वमा रेखा शर्मा, सामान्य प्रशासन, अग्निप्रसाद सापकोटा, वन तथा भू –संरक्षण, शक्तिबहादुर बस्नेत गृह, गणेशमान पुन आपूर्ति, गिरिराजमणि पोखरेल शिक्षा, उमेश यादव सिँचाइ र हरिबोल गजुरेल कृषिमन्त्री हुनुभएको थियो