काठमाडौँ /

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिनु राष्ट्र र सो दलका लागि ठूलो घाटा रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा मन्त्री राईले संविधान प्राप्तिसँगै मुलुक आर्थिक विकास र समृद्धितिर लम्किरहेकाले प्रधानमन्त्री पदको लोभ गर्दै माओवादी सरकारबाट बाहिरिनु गल्ती भएको बताए । संविधान कार्यान्वयनको कार्ययोजना ल्याई राष्ट्रिय स्वाधीनताको रक्षामा कटिबद्ध वर्तमान सरकारलाई विस्थापन गर्न खोज्नु मुलुक र जनताको हितमा नभएको बताउँदै माओवादीले चालेको यस कदम आत्मघाती रहेको पनि उनले जिकिर गरे ।
सो अवसरमा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले अब देश विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले ठूलो दल भएको हिसाबले अब सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्नेमा जोड दिए । रासस