
धरान / सरकारले खोलाजन्य पदार्थ निकाल्न तीन महिना रोक लगाएपनि गछिया खोलाबाट ढुङ्गागिटी तस्करी हुने क्रम नरोकिएको पाइएको छ । सलकपुर सेक्टर वन कार्यालय मोरङले दुई दिनभित्रमा रातको समयमा दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएसँगै तस्करीको भेद खुलेको हो । सेक्टर वनले को. १ त ९४४१ र को २ त. ४९६८ नम्बरको ट्रयाक्टरसहित चालक राजकुमार लिम्बू र सुजित शेर्पालाई पक्राउ गरेको हो । यस्तै इलाका प्रहरी कार्यालय बेलबारीले शनिबारमात्र मे. १ त २२९६ र को. १ त ६२७१ नम्बरको ट्रयाक्ट्रर पक्राउ गरेर जिविसमा बुझाएको छ । यी घटनाले पनि रातको समयमा तस्करी हुने गरेको प्रमाणित गर्दछ । ‘रातको समयमा चोरी–निकासी हुन्छ भन्ने कुरा आएपछि जाँदा दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिन सफल भयौं’, सेक्टर वनका अधिकृत जनक उपाध्याय भन्छन् । सरकारले भदौसम्म ढुङ्गागिटी निकासीमा रोक लगाएपनि तस्करहरुले प्रहरी प्रशासनको मिलोमतोमा ढुङ्गागिटी तस्करी गरिरहेको गाउँलेको आरोप छ । नाम नछाप्ने शर्तमा एक गाउँले भन्छन्, ‘रातको समयमा ट्रयाक्टरबाट ढुङ्गागिटी तस्करी भइरहँदा पनि कसैले ध्यान दिएको छैन ।’ प्रशासनसँगको मिलोमतोमा तस्करी भइरहेको उनको दाबी छ । तर, सेक्टर वनका अधिकृत उपाध्यायले भने कमिशनको चलखेल हुने÷नहुनेबारे आपूm अनभिज्ञ रहेको दाबी गरे । ‘कमिशनको चलखेलबारे थाहा छैन, तर रातको समयमा चोरी–निकासी हुने रहेछ ।’ उनका अनुसार राति ११ बजे र बिहान ४ बजे ट्रयाक्ट्रर नियन्त्रणमा लिएको हिसाबले पनि चोरी हुने तथ्य छिप्न सक्दैन । इप्रका बेलबारीका प्रमुख इन्स्पेक्टर मेघराज थापाले प्रहरीले २४ सै घण्टा निगरानी राखिरहेकाले नै रातको समयमै पक्राउ गर्न सफल भएको दाबी गरे । उनले प्रहरीको मिलोमतोमा तस्करी हुने कुरा आरोप मात्रै भएको बताए । ‘कुनै पनि प्रहरीको मिलोमतोमा तस्करी हुन्छ भन्ने कुरा आरोप मात्रै हो । सय प्रतिशत त्यस्तो हुन सक्दैन’, उनले भने । यस विषयमा पटक–पटक जिल्ला प्रशासनसम्म कुरा पु¥याए पनि सुनुवाई नभएको उनले बताए । अहिले ती ट्रयाक्टरवालाहरुले तस्करी गरेको ढुङ्गागिटी खोलामै डिपो बनाएर राखेको स्थानीयवासी बताउँछन् । विकास निर्माणको नाममा हुने गरेको तस्करी रोक्नको लागि प्रशासनबाट चासो नजाँदा अहिले सृजना सामुदायिक वन क्षेत्र र आसपासको गाउँनै जोखिममा पर्न थालेका छन् । सुन्दरदुलारी नगरपालिका–२ क्षेत्रबाट चोरी–निकासी हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी तोयम रायले प्रशासनले चासो नदेखाएको भए कसरी पक्राउ हुन्छ भन्दै प्रतिप्रश्न गरे । अहिले प्रहरीहरुलाई खोला पस्नेबित्तिकै पक्राउ गर्नू भन्ने आदेश नै भएकाले चोरी–तस्करी गर्नेलाई कारबाही मात्रै हैन सार्वजनिक मुद्दा लगाएर अघि बढ्ने तयारीमा रहेको उनले बताए । ‘गैरकानुनी काम गर्नेलाई माफी हुन सक्दैन । अब जरिवाना मात्रै हैन सार्वजनिक मुद्दा लगाएर अघि बढ्छौं’, उनले फोन सम्पर्कमा भने । उनले पनि तस्करहरुसँग प्रशासन मिल्ने कुनै सम्भावना नभएको बताए । ‘कोसँग मिल्नु ?’ उनले थपे, ‘तस्करलाई पक्राउ गर्ने नै हो ।’