-
Home
-
सिनेमा
-
पोर्चुगल पुर्याइएका २३ नेपालीको उद्धार
पोर्चुगल पुर्याइएका २३ नेपालीको उद्धार
- असार २३, २०७३
- ब्लाष्ट खबर
काठमाडौँ/आकर्षक काम र तलबको प्रलोभनमा मानव तस्करहरुले पोर्चुगल पुयाएका २३ नेपालीलाई त्यहाँको अध्यागमन विभागले उद्धार गरेको छ ।
पोर्चुगलको अध्यागमन विभाग (सेफ) ले कष्टकर अवस्थामा जीवन बिताइरहेका २३ नेपालीसहितका आप्रवासीलाई ‘पोखरा अपरेशन’ का क्रममा उद्धार गरेको हो । सेफले अपरेशनका क्रममा कृषि काममा लगाइएका २३ जना नेपालीलाई पोर्चुगलको सन्तराई क्षेत्रबाट मङ्गलबार उद्धार गरेको पुष्टि गरेको छ । उद्धार गरिएका सबै नेपालीका नाम, ठेगाना र विवरण भने सेफले सार्वजनिक गरेको छैन ।
सेफले उद्धारपछि जारी गरेको विज्ञप्तिमा २३ नेपालीसहित आप्रवासीहरु मानव तस्करको शिकार भएको जनाइएको छ । नेपालीसहितका आप्रवासीका लागि गरिएको बासको व्यवस्था पनि न्यूनतम् सुविधायुक्त नभएको सेफले जनाएको छ । उद्धार गरिएका नेपालीसहितका आप्रवासीलाई कसरी पोर्चुगल पु¥याइयो भन्ने खुल्न सकेको छैन । तर सेफले गरेको अनुसन्धानका क्रममा नेपालीसहितका आप्रवासीसँग गरिएको कामको सम्झौतापत्र पनि त्यहाँको कानूनअनुसार अवैध भएको पाइएको छ ।
नेपाली आप्रवासीहरुलाई गाईवस्तु राखिनेजस्तै झ्याल पनि नभएको घरको भूइँ कोठामा कोचाकोच अवस्थामा राखिएको पाइएपछि कारवाही प्रक्रिया अघि बढाइएको हो । पोर्चुगलमा काममा लगाउने एजेन्टले खानेकुरा दाल, चामल, प्याज र आलुसहित सहुलियतमा किनेर चर्को मूल्य असुलेको पाइएको छ । सेफले छापा मारेको स्थान फोहोर र झ्याल पनि नभएको भेटिएको थियो । नेपालीसहितका आप्रवासीलाई एउटै कोठामा सातजनासम्मलाई सुताइएको पाइएपछि सेफले कारवाही अघि बढाएको हो ।
उनीहरु बसेको कोठामा पानी र बिजुलीको सुविधा पनि नभएको सेफले जनाएको छ । उसले भनेको छ, ‘त्यति धेरै आप्रवासीका लागि एउटा मात्रै भत्किसकेको शौचालय भएकाले उनीहरुको जीवन कष्टपूर्ण थियो ।’ सेफले गरेको अनुसन्धानका क्रममा कम्पनीका मालिकले आप्रवासीबाट खाना र बासको रकम चर्को रुपमा असुल्ने गरेको पाइएको छ । ‘आप्रवासीहरुलाई तोकिएभन्दा धेरै समय काम लगाउँदा पनि थोरै तलब दिइएको पाइयो’, सेफले भनेको छ, ‘उद्धार गरिएका कामदारहरुले आपूmहरु चर्को श्रमशोषणमा परेको बयान दिएका छन् ।’
सेफले गरेको अनुसन्धानका क्रममा कम्पनीका मालिकले आफ्नो र कामदारहरुबीचको सम्बन्ध सुमधुर रहेको बयान दिए पनि कामदारको अवस्था भने दयनीय भएको पाइएको छ । पोर्चुगलको पीआर मिलाइदिने भन्दै कामदारहरुबाट लाखौँ रुपैयाँ असुलेको बयान पनि नेपाली कामदारहरुले दिए । उनीहरुको सुरक्षा र घटनाबारे थप अनुसन्धानका लागि सेफले उनीहरुलाई विशेष आवासगृहमा सारिसकेको जनाएको छ ।
सेफको कारवाही र अनुसन्धानबाट नेपालीहरु मानव तस्करको हातमा पर्दै युरोपसम्म पुगेको तथ्य पनि खुलेको छ । मानव तस्करहरुबाट पोर्चुगलसहितका युरोपेली देशमा पु¥याइएका नेपालीहरुलाई कृषि काममा लगाएर श्रम शोषण गरिएको तथ्य पनि बाहिर आएको छ । सेफले पोर्चुगलमा नेपालीसहितका आप्रवासीलाई शोषण गर्ने कम्पनी, त्यसका मालिक र त्यहाँसम्म पु¥याउने दलालबारे केही पनि बोलेको छैन ।