बाढी र पहिरोका कारण दर्जनौँ घर भत्केका र यसका कारण मृतक सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । ठूलो वर्षापछि आएको बाढीका कारण कैयौँ मानिस बेपत्ता भएका खबर आएपछि उद्धार टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ । इन्डोनेसियाको प्रकोप व्यवस्थापन संस्थाका प्रवक्ता सुटुपोनोबो पूर्वोरेजोले मध्य जाभाक्षेत्रमा हालैका दिनमा भएको व्यापक वर्षापछि बाढी आउँदा र पहिरो जाँदा ३५ जना मृत्यु भएको, २५ बेपत्ता भएको र १४ जना गम्भीर घाइते भएका बताउनुभएको छ । वर्षापछि नदीको सतह बढेपछि बस्तीमा पसेको पानीले हजारौँ घर डुबानमा पारेको, सडकहरु भत्काएको बताइएको छ । यहाँका टेलिभिजनद्वारा सम्प्रेषित दृश्यमा कैयौँ मानिस बाढी र डुबानबाट बाँच्न गाउँगाउँमा रुखका हाँगामा बसी सहयोगको याचना गरिरहेको देखाइएको छ । एएफपी