तरहरा/सुनसरी प्रशासनले नेपालको सीमावर्ती क्षेत्रका होटलहरु साँझमै बन्द गर्न निर्देशन दिएको छ । भारतको बिहार राज्यमा मदिरा निषेध गरेसँगै भारतीयहरु मापसे (मादक पदार्थ सेवन) गर्न नेपालको सीमावर्ती क्षेत्रमा धाउन थालेको भन्दै सम्भावित घटनालाई दृष्टिगत गर्दै साँझ ७ बजेपछि मदिरा बिक्री–वितरण तथा होटलहरु बन्द गर्न निर्देशन दिएको हो ।

hotel सुनसरीका सीमावर्ती क्षेत्र श्रीपुर साहेबगञ्ज, दशजग्गा क्षेत्रका सीमा क्षेत्रका होटलहरुलाई ७ बजेपछि बन्द गर्न निर्देशन दिएको सुनसरीका एसपी पोषराज पोखरेलले बताए । धरान, इटहरी, भेडेटार, भण्टाबारीलगायतका क्षेत्रमा भारतीयहरुको चाप बढिरहेको र भारतीय एसएसबीले सीमा क्षेत्रमा मापसे खाएर भारततर्प फर्कनेहरु बढेको बताउँदै सीमा क्षेत्रमा कडाइ गरिदिन अनुरोध गरेको उनको भनाइ थियो । एसपी पोखरेलले सीमा क्षेत्रमा मदिरा बिक्रीमा रोक लगाइदिन भारतीय पक्षले अनुरोध गरे पनि आपूmहरुले रोक लगाउन नसक्ने बताएर साँझ ७ बजे होटलहरु बन्द गर्न निर्देशन दिएको जनाए । सीमा क्षेत्रमा मदिरा खान भारतीयहरु आउँदा हुन सक्ने दुर्घटनालाई ध्यानमा राखेर ७ बजे बन्द गर्न निर्देशन दिएको एसपी पोखरेलको भनाइ छ । भारतीय एसएसबीसँग वीरपुरमा भएको बैठकमा उनीहरुले सीमा क्षेत्रमा कडाइ गरिदिन आग्रह गरेको एसपी पोखरेलले जनाए । बिहार सरकारले मदिरा उत्पादन, बिक्री–वितरण वा सेवन गरे १ लाखदेखि ५ लाख रुपैयाँसम्म र १० वर्षसम्म कैद सजायको व्यवस्था गरेको कारण भारतीयहरु मदिराका लागि नेपाल आउन थालेका हुन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले पनि सीमावर्ती क्षेत्रमा कडाइ गर्न थालेको बताए । सीमा क्षेत्रमा कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएको प्रजिअ चापागाईंले जनाए । उनले भारतीय गाडीहरुको तथ्याङ्क राख्ने कामसमेत भइरहेको बताए । प्रशासनले भारतीय गाडीको तथ्याङ्क नराखेको समाचार बुधबार ब्लाष्टमा प्रकाशित भएको थियो । पूर्व क्षेत्रका डीआईजी केशरीराज घिमिरेले भारतीयहरु नेपालमा आउने क्रम बढेपछि सीमावर्ती क्षेत्रमा कडाइ गरेको जनाए । प्रहरीले सीमावर्ती क्षेत्रमा गस्ती बढाइरहेको र भारतीय गाडीहरुको तथ्याङ्क राख्ने कामसमेत भइरहेको उनको भनाइ छ । बिहार सरकारले गत अप्रिल ५ देखि राज्यमा रक्सी बेचबिखनमा प्रतिबन्ध लगाएपछि बिहारका मानिस रक्सी खान सीमावर्ती बजारमा आउन थालेको होटल व्यवसायीहरुको भनाइ छ । मदिरा सेवनका कारण बिहारमा अपराध बढेको र अभिभावकले घरपरिवारलाई बेवास्ता गरेको भन्दै राज्य सरकारले त्यहाँ मदिरामा प्रतिबन्ध लगाएको हो ।