सहकारी संस्थाको अनुगमन खै ?
तरहरा/सुनसरीमा विभिन्न ठाउँमा सहकारी दर्ता गराई दुई वर्षयता कारोबार नगरी निष्क्रिय रहेका ११ सहकारी संस्थालाई सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले खारेज गरेको छ । समयमै नवीकरण र नियमित साधारणसभा नगरेको तथा कार्यालयको सम्पर्कमा समेत नआएकाले त्यस्ता संस्थाहरु खारेज गरेको कार्यालयले जनाएको छ ।
तोरीबारी बचत तथा ऋण सहकारी संस्था (वराहक्षेत्र), मिरमिरे कृषि सहकारी संस्था (भोक्राह), हिमाली महिला बचत तथा ऋण सहकारी संस्था (रामगञ्ज बेलगछिया), पाञ्चाली कृषि सहकारी संस्था (रामगञ्ज बेलगछिया), सीताराम तरकारी तथा फलपूल उत्पादक संस्था (हरिनगरा) र चौधरी बङ्गुरपालन सहकारी संस्था (औराबनी) खारेज भएको सहकारी निरीक्षक श्यामप्रसाद दाहालले जानकारी दिए ।
दाहालका अनुसार खारेजीमा पर्ने अन्य सहकारीमा कैलुबाबा महिला कृषि सहकारी संस्था (इटहरी, साविक एकम्बा), घुस्की कृषि सहकारी संस्था, रामधुनी कृषि सहकारी संस्था (डुम्राहा), साल्पा कृषि सहकारी संस्था (पूर्वकुशाहा) र मिश्रित कृषि सहकारी संस्था (बबिया) छन् । दर्ता गरेर काम नगर्ने सहकारीहरुलाई धमाधम कारवाही गर्न थालेको डिभिजन कार्यालयले जनाएको छ ।
निष्क्रिय रहेका सहकारीहरुलाई सहकारी ऐन, २०४८ को दफा ४१ (३) बमोजिम खारेज गरेको डिभिजन प्रमुख बलराम निरौलाले जनाए । उनले भने, ‘सहकारी दर्ता गरेर लामो समयदेखि गतिविधि नगर्नेहरुलाई हामीले खारेज गरेका हौँ ।’ निरौलाका अनुसार सुनसरीमा हाल ६ सय ४९ वटा सहकारी संस्था दर्ता छन् । निरौलाले भएका सहकारीहरुले पनि सबै नियम पालना नगरेको स्वीकार गर्दै भने, ‘सहकारीले कलेक्टर राखेर दोकान–दोकानबाट पैसा उठाउन पाउँदैन ।’पछिल्ला केही वर्षयता सहकारी संस्थाहरुमा कडाइ गरिएको पनि डिभिजन कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०६८÷६९ मा ४७ वटा सहकारी संस्था खारेज भएका थिए भने आव २०७१÷७२ मा १८ वटा सहकारी खारेज गरिएका थिए ।