धरान / धरानका अधिकांस पसलहरु घरेलु तथा साना उद्योगमा दर्ता नभएको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय इटहरीले बुधबार गरेको अनुगमनको क्रममा यस्तो फेला परेको हो । उद्योगले करिव १८ वटा पसलहरु अनुगमन तथा निरीक्षण गरेको थियो । ती मध्ये ७ वटा पसलहरुलाई उद्योगमा आउनको लागि पत्र काटेको छ । ‘अनुगमनको क्रममा अधिकांस पसलहरु उद्योगमा दर्ता हुनुपर्छ र ? भन्ने खाल्को पाइयो ।’ कार्यालयका अधिकृत अर्जुन निरौलालले निरीक्षणपछि भने । धरान(१३ फुस्रेबाट सुरु गरेको अनुगमनमा खाद्यको अवस्था र उत्पादन मिति, उपभोग्य मितिलगायत नापतौलको अवस्थाबारेसमेत बुझेको उनले बताए । ‘धेरै पसलहरुमा खाना नछोपी राख्ने, बिस्कुट, चाउमिन, भुटेको चनालगायतको उत्पादन मिति, उपभोग्य मितिहरुसमेत पाइएन् ।’ अधिकृत निरौलाले भने ‘नापतौलमा सन्तुष्ट भइएन् ।’ अनुगमनपछि उनले जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गर्ने अनुगमन निरीक्षण धरानमा आवश्यक रहेको कार्यालयले निश्कर्षसमेत निकालेको थियो । उपभोक्ता हित संरक्षण ऐन २०५४ अनुसार उद्योग, पसल तथा होटलहरुलाई सचेत गराउने उद्देश्यले अनुगमन गरिएको हो । अनुगमनमा होटल, किराना पसल, खाजा पसल, कुटानीपिसानी मिल, रेष्टुरेन्टमा अनुगमन गरेको थियो । घरेलुमा दर्ता नभएकाहरुलाई दर्ता प्रक्रिया बारे र किन दर्ता गर्नु पर्छ भन्ने बारेमा जानकारी दिँदै सार्वजनिक सूचनाको ब्रोसरहरुसमेत प्रदान गरिएको उनले बताए । र, कुन पसलहरुको दर्ता प्रक्रियाहरु के छन् भन्ने पत्रसमेत थमाइदिएको छ । इलाका प्रशासन कार्यालय धरानका प्रतिनिधि, धरान उपमहानगरपालिकाका प्रतिनिधि, सुनसरी उद्योग बाणिज्य संघका प्रतिनिधि, प्रहरी र कार्यालयका अधिकृतसहितको नेतृत्वमा अनुगमन गरिएको हो । कतिपय किराना पसलहरुमा म्याद गुज्रेका सामग्रीहरु फेला पारेपछि पसलहरुलाई नष्ट गर्न लगाएका थिए । ‘म्याद गुज्रेका सामग्रीहरु फेला पारे पनि हामीले नष्ट गर्नलाई भन्यौं । किनकी पहिलो चोटी भएकाले चेतावनी दिएर छाडेका हौं ।’ अधिकृत निरौलाले भने ‘फेरि फेला परेमा कारबाही हुन्छ ।’ टोलीले धरान १३ को रोशनी किराना पसल, संकर किराना पसल, दन्तकाली गिफ्ट हाउस, विनिता किराना पसल, आरकेएमएम किराना पसल, अमित किराना पसल, सोहन सेन्मी, पुष्पा किराना पसल, सितल नास्ता पसल, सोहन रेष्टुरेन्ट, सुर्दशन किराना पसल, कविर होटल, परी स्टोर, फुस्रे किराना पसल, धरान(५ को गुप्ता किराना पसल, बाजेको होटल र धरान(१२ को बुढासुब्बा कुटानी पिसानी मिलमा अनुगमन गरेको थियो । त्यसमध्ये बुढासुब्बाको भने उद्योगमा दर्ता भएको पाइएको थियो ।