ढाका/ बङ्गलादेशको प्रहरीले यहाँका इस्लामिक अतिवादीहरुका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा बुधबार एक मुस्लिम अतिवादी मारिएका छन् । उनी सङ्कास्पद मुस्लिम अतिवादी रहेको सूचनाका आधारमा प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका थिए । प्रहरी कारबाहीका क्रममा २५ वर्षीय हतियारधारीको उत्तरी बङ्गलादेशको बोग्रा जिल्लामा ज्यान गएको बताइएको छ । उनी गत वर्ष बङ्गलादेशमा रहेको एक क्रिश्चियन चर्चमा हमला गर्ने व्यक्ति हुन् । उक्त चर्चमा भएको हिंसात्मक हमलामा परी केही व्यक्तिको ज्यान पनि गएको थियो । त्यस चर्चमा बम आक्रमणमा संलग्न रहेको पाइएका उनको खोजीका लागि प्रहरीले विशेष प्रहरीको समूह खटाएको थियो । बुधबार बिहान अकस्मात भेटिएका उनले प्रहरीमाथि गोली प्रहार गरेको जनाइएको थियो । त्यसको विरुद्ध प्रहरीले गरेको जवाफी फायरका क्रममा ती व्यक्ति मारिएका बताइएको छ । उनले आफ्नो भूमिगत नाम कावसर राखेका थिए । उनी बङ्गलादेशमा हालैका दिनहरुमा आक्रमण गरी विभिन्न अल्पसङ्ख्यक धर्माबलम्बीहरुको आक्रमण गर्ने गरेका मुस्लिम अतिवावदीहरुको समूहका व्यक्ति हुन् । उनी जैमेतुल मुजाहिद्दिन बङ्गलादेश नामक समूहका सदस्य रहेका प्रहरीले पत्ता लगाएको छ । उक्त संगठनले बङ्गलादेशमा रहेका मुस्लिम समुदायका नागरिकको हत्या गर्ने गरेको छ । बङ्गलादेशमा क्रिश्चियन र हिन्दू धर्मका अल्पसङ्ख्यक नागरिकको हत्याको शृंखला पछिल्लो समयमा बढ्दो मात्रामा रहेको छ । उक्त हत्यामा सोही संगठनका विद्रोहीको सम्लग्नता रहने गरेको पनि प्रहरीले जनाएको छ । उक्त संगठनका विरुद्धमा प्रहरीले सुरु गरेको कारबाहीका क्रममा यी चौथो व्यक्तिको निधन बुधबार भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । रासस÷एएफपी