धरान/राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडले साना किसानलाई लक्षित गरी कैलाली र कञ्चनपुर जिल्लामा धानको बीउ बिक्री वितरण गर्न कोटा निर्धारण गरेको छ ।
बढीमा चार बिगाहासम्म जग्गा भएका साना किसानलाई वर्षे धान बालीको बीउ बिक्री गर्न कैलालीमा एक हजार ८६८ क्वीन्टल र कञ्चनपुरमा एक हजार ७४० क्वीन्टल कोटा निर्धारण गरिएको हो ।
कम्पनीको क्षेत्रीय कार्यालय धनगढीका प्रमुख गणेश पन्थीले प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिको हालै बसेको बैठकले यी दुई जिल्लाका लागि वर्षेबालीको धानको बीउको कोटा निर्धारण गरेको बताउनुभयो ।
कोटाको बीउको बिक्री वितरण परल मूल्यको ४० प्रतिशत अनुदानमा भइरहेको छ । गतवर्ष परल मूल्यको ३५ प्रतिशत अनुदानमा बीउ वितरण गरिएकोमा यसवर्ष अनुदान वृद्धि गरी ४० प्रतिशत पुर¥याइएको पन्थीले बताउनुभयो ।
बीउको मागलाई ध्यानमा राखी धानको बीउको कोटा थप्न सकिने बताइएको छ । लिमिटेडको कार्यालयले इजाजत प्राप्त अधिकृत बिक्रेता (डिलर), कृषि सहकारी किसान समूह मार्फत जिल्ला कृषि विकास कार्यालयको सिफारिसका आधारमा धानको बीउ बिक्री गर्न लागेको छ ।
चालीस प्रतिशत अनुदानमा बीउ बिक्री गर्दा प्रति क्विन्टल मोटो उन्नत् जातको धानको बीउ रु तीन हजार ४२, मध्यम धानको बीउ रु तीन हजार २१६ र मसिनो जातको बीउ रु तीन हजार ४८० पर्ने गरेको छ । पहाडी जिल्लाका किसानलाई उन्नत् बीउ वितरण गर्ने व्यवस्थापन सम्बन्धित जिल्लाका कृषि विकास कार्यालयले गरिरहेको बताइएको छ ।
कार्यालयले राधा—४, सुख्खा—१, सुख्खा–३, रामधान, सावित्री र सावा सगुवान गरी छ प्रकारका उन्नत् जातको धानको बीउ बिक्री गर्दै आएको छ ।
कार्यालयले धान र गहुँको उन्नत् बीउ उत्पादनका लागि कैलाली र कञ्चनपुर जिल्लाका किसान र किसान समूहमा बिज वृद्धि कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । रासस