रविन भट्टराई
/पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि भएसँगै ताप्लेजुङमा ठूलो लगानीमा सुविधासम्पन्न होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ ।
विश्वकै तेस्रो तथा नेपालको दोस्रो हिमाल कञ्चनजङ्घा र प्रसिद्ध तीर्थस्थल पाथिभराको दर्शन तथा अवलोकन गर्ने तीर्थयात्री तथा पर्यटकको चाप बढेसँगै सुविधासम्पन्न होटल तथा रिसोर्ट खुल्न थालेको हो । पर्यटकीय क्षेत्र प्रशस्त भएको र सदरमुकाम हुँदै सुकेटार एयरपोर्टसम्म कालोपत्रे सडक पुगेकाले दैनिक सयौं सङ्ख्यामा पर्यटक तथा तीर्थयात्रु आउन थालेपछि उनीहरुको सुविधाका लागि करोडौँको लगानीमा होटल खोल्ने होड नै चलेको छ ।
केही दिनअघि मात्र सदरमुकामनजिकै स्थानीय सुरेश लिम्बूले छ करोडभन्दा बढीको लगानीमा जिल्लाकै सुविधासम्पन्न मेवाखोला हिल रिसोर्टको शुरुआत गरेका छन् । छ करोडभन्दा बढीको लगानीमा स्थापना भएको यो जिल्लाकै पहिलो रिसोर्ट भएको उनको दावी छ ।
सुविधासम्पन्न कोठाहरु, सेमिनार हल, बारको व्यवस्था र सबै किसिमका परिकार दिन सक्ने बताउँदै सञ्चालक लिम्बूले व्यापारका लागि भन्दा पनि पर्यटक र तीर्थयात्रुलाई सेवा दिन रिसोर्टको स्थापना गरेको बताए । पर्यटकीय जिल्ला भएपनि पर्यटक र तीर्थयात्रुले चाहेजस्तो सेवा–सुविधा नपाएकाले उनीहरुका मागलाई ध्यानमा राख्दै पार्किङसहितको शान्त वातावरणमा रिसोर्ट स्थापना गरेको लिम्बूको भनाइ छ ।
सदरमुकाम, सुकेटार, पाथीभरा क्षेत्रलगायत्का स्थानमा धेरै होटल खोलिए पनि तीर्थयात्रुको माग र चापलाई होटलहरुले थेग्न नसक्दा यसअघि तीर्थयात्रु र पर्यटकले पीडा खप्दै आएका थिए । रिसोर्ट स्थापनासँगै यसले पर्यटन क्षेत्रलाई समेत टेवा पुयाउने पर्यटन व्यवसायी हर्कराज गुरुङले बताए ।