राजविराज/ व्यापारीको सुन, चाँदी पक्राउ गरी अनियमितता गर्ने सप्तरीका एक असईसहित दुई प्र्रहरीलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले कार्वाही गरेको छ ।
सप्तरीका असई रामजी चौधरी र प्रहरी जवान ललित झामाथि कार्वाही गरिएको पूर्वाञ्चलका डिआईजी केशरीराज घिमिरेले बताएका छन् । साथै, सुनचाँदी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी जवान पप्पु यादव र चन्दन यादवलाई समेत नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अघि बढाइएको उनले जनाए ।
गत वैशाख ६ गते लहानस्थित विकास ट्रेडर्सबाट न्यू राज्यलक्ष्मी ज्वेलर्स राजविराजका कामदार मोहम्मद नसिमले २० भरी (तोला) सुन, पाँच केजी चाँदी र ११ थान सुनको सिक्री ल्याइरहेको अवस्थामा राजविराजको रुपनी मोडबाट सुनचाँदी अवैध रहेको भन्दै सिभिलमा रहेका प्रहरीले पक्राउ गरेका थिए । उक्त सुनचाँदी कसैलाई जानकारी नदिइ आपैं बाँडेर अनियमितता गरेको आरोपमा उनीहरूमाथि कार्वाही गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
सुनचाँदी प्रकरणबारे छानबिन गर्दा प्रहरीद्वय चौधरी र झाले अनियमितता गरेको पाइएपछि आवश्यक छानबिन भइरहेको क्षेत्रीय प्रहरी कार्यालयले बताएको छ ।
राजविराजस्थित न्यू राज्यलक्ष्मी ज्वेलर्सका लागि खरिद गरेर ल्याउँदै गरेको सुनचाँदी प्रोप्राइटर शत्रुघन साहको रहेको भन्दै सप्तरीका सुनचाँदी उद्योग व्यवसायी सङ्घका अध्यक्ष राजेशकुमार साहले पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।रासस