amerikaह्यानओभर (जर्मनी) अमेरिकी राष्ट्रपति बाराक ओबामाले इस्लामिक स्टेट (आईएस) समूहविरुद्धको कारबाहीलाई सशक्त बनाउन अमेरिकाले विशेष तालिम प्राप्त सैनिक अधिकारीसहित थप २ सय ५० जना सेनालाई सिरिया पठाउन तयार रहेको सोमबार जर्मनीमा एक समारोहका बीच बताएका छन् ।
राष्ट्रपति ओबामा जर्मन चान्सलर एन्जेला मर्केलसँग आतङ्कवादी समूह आईएसविरुद्धको लडाइँलाई थप सशक्त बनाउने उद्देश्यका साथ आइतबार जर्मनी आई पुगेका थिए । राष्ट्रपति ओबामाले आफ्नो जर्मनी बसाइँमा युरोप–अमेरिकाबीचको व्यापारिक सम्झौता निर्माण गर्न उपयोग गर्ने विश्वास लिइएको छ ।
अमेरिकी राष्ट्रपतिको जर्मनी बसाइँमा जर्मन चान्सलर एन्जेला मर्केलसँग इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको अभियान, आतङ्कवाद विरुद्ध गरिने सहकार्यमा सुधार र कानुनी सूचना आदानप्रदान गर्ने लगायतका विषयमा छलफल भएको बताइएकोे छ । दुवै नेता आजै आईएसविरोधी अभियानलाई बल पु¥याउन बेलायत, फ्रान्स तथा इटालीका उच्च नेता सहभागी हुने अनौपचारिक बैठकमा सहभागी हुने कार्यक्रम छ ।
छलफलमा ओबामाले नेटो सदस्य राष्ट्रका नेताहरूलाई नेटो गठबन्धनले चलाएको आईएसविरोधी अभियानले सफलता पाएको र आईएस गतिविधिलाई पूर्ण नियन्त्रणमा लिन अझै केही समय सङ्घर्ष गर्नुपर्ने कुरामा जोड दिने अमेरिकी स्रोतले बताएको छ ।
अमेरिकाले सिरियामा विशेष सैन्य कारबाही चलाएको र सिरियामा द्वन्द्वरत् आईएस विद्रोहीको शक्ति क्षीण भइसकेको बताउनु हुँदै आवश्यक परे थप २५० जनाको सैनिक विशेषज्ञ टोली पठाउन सक्ने बताए । तर विशेषज्ञ टोलीले आईएसविरुद्धको लडाइँमा प्रत्यक्ष सहभागी नहुने तर उनीहरूको अनुभव साट्दै स्थानीय सेनालाई तालिम दिने बताए । एएफपी