
मंचका संस्थापक तथा अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठले श्रद्धान्जली अपर्ण गर्ने क्रममा भूकम्पबाट पीडितहरुको विषयवस्तुमा आधारित खोजी पत्रकारीता गर्ने एकजनालाई मंचले पुरस्कृत गर्ने घोषणा गर्दै सो पुरस्कार आगामी वैशाख १२ गते प्रदान गरिने जानकारी दिए । त्यसैगरी उनले पुनर्निमाणको कार्यमा प्रवासी नेपालीहरु सन्तुष्ट नभएको र राष्ट्रसेवक भनिएका कर्मचारीहरु पुनर्निमाण प्राधिकरणमा सरुवा भएर आउन नमानेको प्रति रोष प्रकट गर्दै सरकारले आह्वान गरे प्रवासमा रहेका नेपालीहरु नेपाल फर्केर सामान्य तलबमै सेवा गर्न तत्पर रहेको पनि बताए । त्यसैगरी उनले ३५ लाख प्रवासी नेपालीहरु मध्ये १० प्रतिशत ३ लाख ५० हजार मात्रै नेपाल फर्केर सडकमा उत्रे सिंहदरबारमै भूकम्प जाने चेतावनी दिदै भूकम्प पीडितहरुको संवेदनशीलतामा राजनीति नगर्न खबरदारी गरे ।
श्रद्धान्जली मन्तव्य व्यक्त गर्ने क्रममा एनआरएनए साउदी अरबका अध्यक्ष नारायाण पासवानले भूकम्प पीडितहरु एक वर्ष पुगिसक्दा पनि अझै पालकै अव्यवस्थित बसोबास गरिरहेका प्रति दुःख व्यक्त गर्दै यथाशिघ्र व्यवस्थित बसोबास गराउनु पर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराउन एनआरएनले पहल गर्ने बताए । एनआरएनए साउदी अरबकै महासचिव तेजबहादुर थापाले भूकम्प पीडितहरुको पीडालाई डलर आर्जनको खेती र कमिशनको खेल खेल्ने माध्यम नबाउन खबरदारी गर्दै पुनर्निमाणको कार्यमा प्रवाशी नेपालीहरुले जस्तोसुकै सेवा र सहयोग गर्न सक्षम रहेको बताए ।
पुनर्निमाणको कार्य ढिलाई भएको र भूकम्प पीडितहरुले अझै पालमै निर्वाह गरिरहनु परेका प्रति संघीय लिम्बूवान राज्य परिषद साउदी अरबका वरिष्ठ उपाध्यक्ष शिरी यवा लिम्बूले सरकारले तत्कालै व्यवस्थित गर्न माग गर्दै भूकम्प पीडितहरुप्रति समवेदना व्यक्त गर्दै मृतात्महरुको चीर शान्तिको कामना गरे । यसैगरी श्रद्धान्जली अर्पण गर्ने क्रममा विवेकशिल नेपाली पार्टीका साउदी अरब प्रमुख रविन गुरुंगले नेपालमा आफ्नो पार्टीको विरोध कार्यक्रममा सरकारले लाठीचार्ज र धरपकड गरेको प्रति घोरविरोध गर्दै पुनर्निर्माणको कार्य कहाँ पुग्यो भन्दै नेपाल सरकारसंग प्रश्न गरेका थिए ।
कार्यक्रममा जुबैलस्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्ट, मनकामना रेष्टुरेण्ट र एभरेष्ट रेष्टुरेण्टका संचालक प्रमुृखहरुले पनि श्रद्धान्जली अर्पण गर्दै पुनर्निर्माणको कार्य यथाशिघ्र सम्पन्न गर्न नेपाल सरकार समक्ष माग गरेका थिए ।
मंचका अन्तरराष्ट्रिय अभियन्ता ओमप्रकास फुयाँलको संयोजकत्व र सभापतित्व एवं देवेन्द्र सुवेदीको उद्घोषणमा सम्पन्न सो कार्यक्रममा अभियन्ताहरु अन्जनीकुमार अधिकारी, तेजकुमार श्रेष्ठ लगायतले श्रद्धान्जली मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय धुन पश्चात् मौन धारण र नेपालको नक्साका वरिपरी मैनबत्ती बालेर भूकम्पबाट मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाईते विमारीहरुको शिघ्रस्वास्थ्य लाभको कामना गरिएको थियो । कार्यक्रममा कविता, मुक्तक र गजल वाचन समेत गरिएको थियो ।
वैशाख १२ गतेकै दिन दमामस्थित फ्रेण्डस अफ साउदी अरबले पनि मनोज नेपालीको सभापतित्व र नेपाली दुतावासका स्थानीय अधिकारी हरि घिमिरेको प्रमुख आतिथ्य र श्री कृष्ण श्रेष्ठको संचालनमा श्रद्धान्जली कार्यक्रम गरेको थियो । उनीहरुले भूकम्प पीडितहरुका लागि सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै यथाशिघ्र पुनर्निर्माणको कार्यलाई सम्पन्न गर्न नेपाल सरकारसंग आग्रह गरेका थिए ।