विराटनगर । मोरङ कारागारका चौकीदार अभिषेक गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गैरकानूनी रहेको भन्दै बदर गर्न मागसहित कारागार व्यवस्थापन  विभागसहित तीनवटा निकायविरुद्ध दिएको रिट ‘हेर्न नमिल्ने’ भनी  माघ १२ गतेको लागि पुनः छलफलमा आउन दुवै पक्षलाई आदेश गरेको छ । मुद्दाको पेशी मङ्गलबार  उच्च अदालत विराटनगरका न्यायाधीश राजनप्रसाद भट्टराई र किरणकुमारी गुप्ताको इजलासमा तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ भएपछि स्थगित भएको हो ।

अर्को पेशी भोलि (माघ १२ गते) का लागि तोकेर पुनः दुवै पक्षलाई बोलाउन आदेश भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज  सुवेदीले जानकारी दिए । न्यायाधी भट्टराई गिरीका कानून व्यवसायी वरिष्ठ अधिवक्ता रमेश कोइरालाको आफन्त परेकोले गिरीको मुद्दा हेर्न नमिल्ने आदेश भएको अदालतले जनाएको छ ।

गिरीले उच्च अदालत विराटनगरमा सरुवा रोक्न अन्तरिम आदेशको माग राख्दै माघ ३ गते नै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए । कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय र मोरङ कागारालाई विपक्षी बनाएर दर्ता गरिएको रिटमा एक वर्षभन्दा कम अवधिमा छुट्ने कैदीबन्दीहरूको सरुवा नगर्ने प्रावधानविपरीत आफ्नो सरुवा भएकोले बदर गर्न गिरीले माग गरेका छन् । गिरीले उच्च अदालत विराटनगरमा आफ्नो सरुवा बदरको माग राख्दै ‘उत्प्रेषण परमादेश’ को माग गरेका छन् ।

अदालतका सूचना अधिकारी सुवेदीका अनुसार उच्च अदालत विराटनगरका न्यायाधीश किरणकुमारी गुप्ताको एकल इजलासले माघ ९ गते दुवै पक्षलाई छलफलको लागि उपस्थित हुन आदेश दिएको थियो । गिरीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश कोइराला र अधिवक्ताहरू कल्याण केसी तथा मदनकुमार पन्तले बहस गरेका थिए ।

उच्चले माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए आधार र कारण खुलाई लिखित प्रमाणसमेत साथमै राखेर १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय विराटनगरमार्फत् लिखित जवाफ पेश गर्न पनि विपक्षीलाई आदेश दिएको छ । कैद भुक्तान हुन एक महिना पनि नहुँदै मोरङ कारागारका चौकीदार गिरीको गृह मन्त्रालयकै निर्देशनमा कारागार व्यवस्थापनले भीमफेदी कारागारमा स्थानान्तरण गर्न मोरङ कारागारमा पत्र पठाएको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको फागुन ३ गते कैद अवधि पूरा हुँदैछ ।

नेकपा (एमाले) का स्थानीय नेताको दबावमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्नू भनेर मोरङ कारागारलाई पत्र पठाएको बताइन्छ । गिरीलाई २०७८ मङ्सिर ९ गते मोरङ कारागार ल्याइएको थियो । त्यसबेला नेपाली काङ्ग्रेसका स्थानीय नेताको दबावमा मोरङ आएका उनलाई अहिले एमाले नेताको दबावमा सरुवा गर्न लागिएको हो ।