वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाले चतरामा निर्माणाधीन १५ शय्याको प्राथमिक चतरा अस्पतालको काममा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको भन्दै काममा रोक लगाएको छ ।

अस्पताल निर्माणस्थलमा आइतबार नगर प्रमुख रमेश कार्कीलगायतको समूहले गरेको अनुगमनमा गुणस्तरहीन इँटा र बालुवा प्रयोग गरिएको भेटिएपछि निर्माण कार्यमा रोक लगाएको हो । प्रमुख कार्कीले ठेकेदार कम्पनी एमएस प्रतिष्ठा के एन्ड केजी ज्वाइन्ट भेन्चरले अस्पतालको भित्ता बनाउन कमसल बिडीआर ब्रान्डको इँटा प्रयोग गरेको बताए ।

प्लास्टर गर्ने बालुवाले इँटा जडान गरेको पाइएपछि काम रोक्न भनिएको नगर प्रमुख कार्कीले बताए । वराहक्षेत्रको गौरवको रूपमा बन्दै गरेको अस्पतालजस्तो संवेदनशील विषयमा ठेकेदारले लापरबाही गरेको भन्दै जडान गरिएको सम्पूर्ण बिडिआर इँटा २ दिनभित्रमा तत्काल हटाउनुपर्ने बताए । सो कम्पनीले सप्तरी जिल्लाबाट १ लाख २० हजार उक्त ब्रान्डको इँटा मगाएको हो । यसअगाडि पनि २०७८ असोज ११ गते पनि लापरबाही गरेको पाइएपछि वडाध्यक्षले काम रोकेका थिए ।

कम्पनीले तत्कालीन समयमा बर्दियाबाट हिरा र सुपर ब्रान्डको ४० हजार इँटा मगाएको थियो भने जग निर्माण गर्दा बाङ्गो बनाएको तथा बिम र पिल्लरमा पानीसमेत नहालेको निवर्तमान अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका भट्टराईले बताए । गुणस्तरहीन इँटा प्रयोग गरेको भन्दै रोकिएको काम खुलाउन कम्पनीले इँटा परीक्षणका लागि धरानस्थित पूर्वाञ्चल क्याम्पस पठाएको थियो ।

त्यहाँबाट परीक्षण पास गरिएको दाबीसहित उक्त सबै इँटा बन्दै गरेको अस्पतालको तल जगमा प्रयोग गरिएको उनले बताए । ‘वराहक्षेत्रको गौरवको योजनाको रूपमा तयार हुन लागेको अस्पताल जस्तो संवेदनशील विषयमा ठेकेदार कम्पनीले चरम् लापरबाही देखाएको छ । ‘दोस्रो पटक पनि जानाजान गरिएको व्यवहार हामीलाई सह्य छैन, २ दिनभित्रमा भूल सुधार नगरे कम्पनीसँगको सम्झौता रद्द गर्न सकिनेछ’–उनले चेतावनीको शैलीमा भने ।

चेतावनीपछि निर्माण स्थलमा भएको सरोकारवालाको भेलामा बोल्दै ठेकेदार कम्पनीका प्रमुख कविराज खड्काको भाइ भनेर चिनाउने साइट इन्चार्ज विशाल खड्काले कम्पनीले सम्झौताअनुसार नै असली इँटा प्रयोग गरेको तर, कहिलेकाहीँ मात्र आउने व्यवस्थापन समितिले अनुगमनको नाममा दुःख दिएको बताए । उनले इँटा गुणस्तरहीन भए ल्यावमा परीक्षण गराउन आफूहरू तयार रहेको बताए ।

यता वडा नं. २ तथा व्यवस्थापन समितिका अध्यक्ष होमप्रसाद गौतमले भने, ‘पटक पटक फटाइँ गर्ने कम्पनीको अब कुनै सफाइ सुनिदैन । गुणस्तरहीन बनाउने अधिकार उसलाई कसले दियो र ?’ निर्माणाधीन चतरा अस्पताल सुनसरी–मोरङ सिंचाइ योजनाको १ बिघा ५ कठ्ठा जग्गामा बनिरहेको छ । सो अस्पतालको उद्घाटन देशभर प्राथमिक स्तरदेखि ठूला अस्पतालको निर्माण कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य सुनसरी क्षेत्र नं. १ सांसद् जयकुमार राईले गरेका थिए ।

२०७७ साल मङ्सिर महिनामा १० करोड ८९ लाख ७५ हजार ६ सय २ रुपैयाँ ७५ पैसामा तत्कालीन केपी ओलीको सङ्घीय सरकारले ठेक्का दिएको हो । अस्पतालको निर्माण अवधि २०७९ साल पुसमा सकिँदै छ । हालसम्म ३० प्रतिशत मात्रै काम पूरा भएको छ । पेमेन्ट नदिएको भन्दै कम्पनीले करिब ७ महिना काम रोकेको थियो ।

Chatara-Hospital-(3)(1)