डोटी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा एक कुष्ठरोगी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कैलाली, कञ्चनपुर र अछाम जिल्लामा अझै कुष्ठरोग निवारण नभएको जनाएको छ ।

नेपालमा कुष्ठरोग निवारणको घोषणा १० वर्ष पुगे पनि सुदूरपश्चिम प्रदेशमा अझै निवारण नभएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । प्रदेशका सबै जिल्लामा कुष्ठरोगीको सङ्ख्या बढ्दै गरेको छ । आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ मा प्रति १० हजार जनसङ्ख्यामा क्रमशः शून्य दशमलव ७ र शून्य दशमलव ६७ थियो भने गत वर्ष बढेर १.०५ कुष्ठरोगी भेटिएका हुन् । गत आर्थिक वर्षमा प्रति १० हजारमा १७८ कुष्ठरोगी देखिएका छन् ।

आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा प्रति १० हजारमा क्रमशः शून्य दशमलव ९ र १ दशमलव ११ कुष्ठरोगी रहेका थिए । त्यस्तै, कञ्चनपुरमा गत आर्थिक वर्षमा प्रति १० हजारमा १.४४ कुष्ठरोगी भेटिएका छन् । २०७२÷७३ देखि २०७३/७४ प्रति हजारमा क्रमशः शून्य दशमलव ८ र शून्य दशमलव ९४ कुष्ठरोगी रहेका थिए ।

गत आर्थिक वर्षमा अछाममा प्रति १० हजार जनसङ्ख्यामा १ दशमलव १८ कुष्ठरोगी भेटिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा क्रमशः १ दशमलव ३ र शून्य दशमलव ८ कुष्ठरोगी रहेका थिए । छ महीनायता मात्रै सुदूरपश्चिम प्रदेशमा ४० नयाँ कुष्ठरोगी भेटिएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए ।

उनले भने, “केष्ठरोगीको सङ्ख्या सुदूरपश्चिममा वर्षेनी बढिरहेको पाइएको छ, यसको रोकथामका लागि ठोस पहल थाल्नुपर्ने अवस्था आएको छ ।” नेपाल सरकारले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । त्यतिबेला १२ जिल्लामा यो रोग निवारण भएको थिएन । अहिले भने १८ जिल्लामा कुष्ठरोगी भेटिएका छन् । विगतमा कुष्ठरोगीलाई अपहेलना गर्ने र उनीहरुलाई गाउँ निकाला गर्ने गरेका कारण पनि मानिस उपचार गराउन नआउने गर्नाले कुष्ठरोगको सङ्क्रमण बढिरहेको छ ।

कुष्ठरोग उपचार गरेमा निको हुन्छ भन्ने चेतना नभएका कारण बिरामी स्वास्थ्य संस्थामा नआउने गरेकाले स्वास्थ्यकर्मीले आफैँ पत्ता लगाएर उपचार गर्ने गरेको निर्देशक डा अवस्थीले बताए । “शरीरमा जुनसुकै रङको नदुख्ने, नचिलाउने तथा लाटो दाग देखिएमा तुरुन्त अस्पताल गई उपचार गराउनुपर्ने बताउँदै डा अवस्थीले भने, “पुरानो मान्यतालाई छाडेर अगाडि बढ्नु जरुरी छ ।” उनले शुरुआती चरणमा उपचार गराएमा शरीरमा हुने क्षति रोकिने बताए।

ढिलो गरी उपचार गराउँदा रोग निको भए पनि शरीरमा भएको क्षति पूर्ण नहुने उनले बताए । कुष्ठरोगको उपचार गराउन स्वास्थ्य संस्थामा ढिलो गरी पुगेका करीब ३० हजार नेपाली कुष्ठरोगका कारण अपाङ्गता भएका छन् । देशभर कुष्ठरोगीको सङ्ख्या बढ्दै गएपछि सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । देशको संरचना परिवर्तनसँगै स्वास्थ्य क्षेत्रको संरचना फेरिएकाले काम गर्न गाह्रो भएको निर्देशक डा अवस्थीको भनाइ छ ।

नेपाल सरकारको कुष्ठरोग निवारण नीति २०१६ ले बच्चामा हुने कुष्ठरोग र कुष्ठरोगका कारण हुने अपाङ्गता शून्यमा झार्ने र कुष्ठरोगको दर प्रति एक लाखमा झार्ने लक्ष्य लिएको छ । सुदूरपश्चिम स्वास्थ्य सेवा निर्देशनालयले कुष्ठरोगको उपचार निःशुल्क गर्नुका साथै नियमित औषधि सेवन गरी निको भएका बिरामीलाई रु एक हजार यातायात खर्च दिने गरेको छ । कुष्ठरोगीको शल्यक्रिया गर्नु परे निःशुल्क गरिने र शल्यक्रिया गरेका बिरामीलाई थप रु सात हजार सहयोग दिने गरेको बताइएको छ ।