विजयपुर । धरान उपमहानगरको १२२ औँ स्थापना दिवस सुरु भएको छ । तीन दिनसम्म मनाइने धरान उत्सवको बुधबार प्रतिनिधिसभा सदस्य अशोककुमार राईले उद्घाटन गरे ।

उद्घाटन समारोहलाई भव्य बनाउन सुनसरीका सबै पालिकालाई पत्राचार गरी निमन्त्रण गरिएको थियो । तर, जिल्लाका अन्य कुनै पालिकाका प्रतिनिधि उपस्थित भएनन् । धरान उपमहानगरका सूचना अधिकारी ध्रुव अधिकारीले सुनसरीका ११ वटै स्थानीय तहलाई निमन्त्रणा गरेको बताए । उनले भने, ‘इमेल पनि गर्यौँ । फोन पनि गरेका थियौँ ।’ उनका अनुसार भगिनी सम्बन्ध भएका ३ नगरलाई आमन्त्रण गरिएको थियो । तर, सुनसरीका ११ वटै पालिका प्रमुख वा प्रतिनिधि उपस्थित भएनन् । छिमेकी गाउँपालिका केराबारी र साँगुरीगढीलाई पनि निमन्त्रण गरे पनि उपस्थिति थिएन । विगतका वर्षमा भने छिमेकी पालिकाबाट सामान्यतः उपस्थिति जनाउने गरेका थिए ।

धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले उद्घाटन समारोहमा आतिथ्यताका लागि सुनसरीका ११ वटा र छिमेकी २ पालिकालिकासहित १३ वटा पालिकालाई आमन्त्रण गरेपनि कुनै पालिकाबाट  उपस्थित नभएको बताए ।

उत्सवमा नगरप्रमुख हर्कराज राईले धरानको श्रमपर्यटन र श्रमसंस्कृति अवलोकन गर्न विभिन्न जिल्लाबाट मात्रै नभएर र भारतबाट पनि आइरहेको बताए ।

बुद्धिजीवी डा. राजेन्द्र शर्माले धरान उत्सवलाई छिमेकी पालिकाले खासै महत्व नदिएको बताए । ‘भगिनीसम्बन्ध भएका नगरहरू टाढा भएकाले आएनन् होला । ठूला र छिमेकी पालिकाले खासै महत्व दिएको देखिएन । स्वीकार नगरेको देखियो, उत्सव उत्साहजनक र उद्देश्यमूलक नभएर होला ।’ पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले आमन्त्रण गरेकोमा उपस्थित भए राम्रो हुने बताउँदै भने, ‘व्यस्तताले आउनु भएन होला ?’ 

यस्तै भगिनीसम्बन्ध भएको धुलीखेल नगरले उपस्थिति जनाएन । गतवर्ष पोखराका नगर प्रमुखको नेतृत्वमा सांस्कृतिक समूहसहित उपस्थिति जनाएको थियो भने यसवर्ष वडाध्यक्ष उपस्थित थिए । इलाम नगरका पनि वडाध्यक्ष नै उपस्थित थिए । अधिकृत खतिवडाले आज (बिहीबार) उद्योग वाणिज्य सङ्घको समन्वयमा ११ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको अन्तरक्रिया कार्यक्रम रहेको बताए । अन्तरक्रियामा आउनु पर्ने भएकाले पनि उपस्थित नभएको हुनसक्छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य राईले धरानका समस्या समाधान गर्नका लागि पहल गर्ने बताए । उनले सबै मिलेर मात्रै धरानको विकास सम्भव भएको पनि बताए । राईले ६ किलोमिटरको लेउती सुरुङ मार्ग निर्माण सर्वे सुरुवात गरी बजेटको व्यवस्थापन गर्ने बताए । तर, नगरप्रमुख हर्कराज राईले भने असहमति जनाए । उनले जलाधार क्षेत्रबाट सुरुङ मार्ग निर्माण गर्न नहुने बताए ।

नगरप्रमुख राईले धरानको प्रमुख समस्या खानेपानी भएकाले समस्या समाधानका लागि पहल गर्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे । उनले वन कार्यालयको कटाक्ष गरेका थिए । उनले भने, ‘यो वन भनेको के हो ? बाटो बनाउन खोज्यो वन आएर रोक्छ । पुल बनाउन खोज्यो, वन आएर रोक्छ । विद्यालय बनाउन खोज्यो वनै आइहाल्छ । यो वन भनेको के रैछ ?’ उनले ३ महिनामा ६ लाख वृक्षरोपण गरेको दाबी गरे । उनले आफूलाई इतिहास रचेको मेयर भएको दाबी गर्दै वनको महŒव बुझाउन प्रहरी आएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

धरान उत्सवमा विभिन्न झाँकीसहित ¥याली गरिएको थियो भने विभिन्न राजनीतिक दल तथा सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।