बिर्तामोड । दक्षिण पुर्वी एशियाकै आधुनिक र सुविधासम्पन्न दावी गरेको बिर्तामोडको ‘पुर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । १० तले अस्पताल भवन निर्माण गरी उपकरण जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले विहीवार पत्रकार सम्मेलन गरी पुस १६ गतेदेखि रेडिएशन सहित उपचार सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको हो । दक्षिण एसियाकै नमूना क्यान्सर अस्पताल भएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले दावी गरेका छन् । ‘सरकारले भ्रमण बर्ष २०२० मनाउँदैछ, हामी मेडिकल पर्यटनको रुपमा भ्रमणबर्ष मनाउने योजनामा छौं, प्रसाईले भने–‘बिदेशी मुद्रा नेपाल ल्याउनका लागि यति जोखिम मोलेका हौं ।’ प्रसाईले क्यान्सर अस्पताल निर्माणमा ४ अर्ब लगानी गरेको बताए ।

‘क्यान्सर अस्पताल फागुन १८ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आउने छ’ प्रसाईले भने ‘त्यसभन्दा अघि हामी उपचार शुरु गछौं ।’ बिश्वकै आधुनिक उपकरण जडान गरिएको अस्पताल एक विगाहा क्षेत्रफलमा अवस्थित रहेको छ । ३ सय वेडको स्वीकृति पाएको अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएपछि प्रत्यक्ष रुपमा ९ सयजनाले रोजगारी पाउने कार्यकारी निर्देशक प्रसाईले बताएका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवले सञ्चालनमा नआउँदै ४५ जना बिरामीले उपचारका लागि नाम दर्ता गराएको जानकारी दिए । यो संख्या उच्च हो, यादबले भने–‘हामी सबै प्रकारका बिरामीलाई सुलभ खर्चमा उपचार गर्ने वाताबरण मिलाउँछौं ।’ पुस १६ गते गोलाप्रथा मार्फत एकजनालाई निःशुल्क रेडिएसन दिएर सेवा सञ्चालनमा ल्याइने यादवले बताए । उनले यस प्रकारको उपचारका लागि सिङ्गापुर, भारतको दिल्ली जापानलगायतका देशमा जानु पर्ने बाध्यता अस्पताल सञ्चालनमा आएपछि हट्ने बताए । अस्पतालमा जुनसुकै क्यान्सरका रोगीका लागि उपकरणसहितको सेवा उपलब्ध रहने डा.यादवले जानकारी दिए ।

अस्पतालले एक मिनेटभित्र रेडिएसन दिने उपकरण भित्र्याएको जनाएको छ । क्यान्सर रोगको जाँचका लागि पेट सिटी स्क्यान, एमआरआई थ्री टेस्ला, फोर डी सिटी सिमुलेटर, महिलाको ब्रेष्ट क्यान्सर पत्ता लगाउने मामोग्राम, ब्रेन ल्याव न्युरो नेभिगेसन, मुटु तथा ब्रेनको लागि क्याथ ल्याव, केमो मिक्सिङ उपकरण, ब्रोन्कोस्कोपी लगायतका आधुनिक उपकरण जडान कार्य अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ । अस्पतालले ५ वटा मोडुलर अपरेसन थिएटर निर्माण गरेको समेत जनाएको छ । पुर्वाञ्चल क्यान्सर अस्पताल दक्षिण पुर्वी एशियाका लागि स्थापना भएको सञ्चालकले बताएका छन् ।