पाँचथर / नेपालको पूर्वी क्षेत्र जहाँ जातीय बाहुल्यता छ, त्यस क्षेत्रमा अहिले उँधौलीको रौनक बढेको छ ।
लिम्बू जातिको बाहुल्यता क्षेत्रमा चासोक तङ्नामको रौनक बढेको छ । बुधबारदेखि शुरु भएको चासोक पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ््खुवासभामा मनाइरहेका छन् । त्यस्तै छिमेकी मुलुक भारतको सिक्किम–दार्जिलिङसँगै लिम्बू जाति रहे–बसेका विदेशका विभिन्न स्थानहरूमा समेत चासोकको उत्साह र उल्लास छाएको छ ।

हार्दिकता साट्ने र सद्भाव बाँड्ने चाडको रूपमा चासोक तङ्नाम मनाइन्छ । चासोकमा गरिने प्रमुख कार्य न्वागी पूजा हो । केःलाङ् (च्याब्रुङ नाच), या?लाङ् (धान नाच), पक्लुङ् लेप्मा (छेलो हान्ने) जस्ता मनोरञ्जन र खेलकुदमा सहभागी हुँदै पूर्वका लिम्बू बस्तीमा चासोक तङ्नाम चलिरहेको छ । विभिन्न स्थानमा मेला र उत्सवको आयोजना गरेर पनि चासोक तङ्नामलाई भव्य बनाइएको छ । ऐतिहासिकस्थल पाँचथरको फिदिम–४ सुम्हात्लुङ परिसरमा सदा झैं यस वर्ष पनि संस्कृति तथा व्यवसाय प्रवद्र्धनका लागि चासोक मेला शुरु भएको छ ।

प्रकृतिपूजक लिम्बू जातिले फलाएको अन्न आफूले खानुपूर्व प्रकृतिलाई चढाउने गर्दछन् । मुन्धुमअनुसार सर्वशक्तिमान तागेरा निङ्वाफुमाङ्ले पोरोक्मी–यम्भामीलाई सारा सृष्टि गर्न आदेश दिए । अन्नपातको बिउबिजन उपलब्ध गराए । लिम्बू संस्कृतिका अध्येता अमर तुम्याहाङका अनुसार ती बिउबिीजन याम मिलाएर रोपी गोडमेल गरी फलाउन, खान योग्य बनाई खान आदिम मानव सावा येहाङ्की चेली सिबेरा उक्थुम्मा सिबेरा येभुङ्गेक्माले मानव जातिलाई सिकाइन् । त्यसैले पाकेका अन्नबाली प्रकृतिसँगै उनीहरूलाई पनि चढाएपछि मात्र खाने प्रचलन लिम्बू जातिमा छ ।
उनीहरूलाई पुकार्दै पाकेको अन्न चढाउने काम फेदाङ्मा (देवारी) ले गर्दछन् ।

यसो गरे रोगव्याधीले नसताउने, अन्नको सह रहने जनविश्वास छ । यही संस्कृति नै चासोक तङ्नाम हो । यो पर्वले प्रकृतिसँग लिम्बू जातिको गहिरो सम्बन्ध रहेको कुरालाई उजागर गर्दछ । चासोकमा एक–आपसमा भेटघाट गर्ने, रमाइलो गर्ने, शुभकामना आदान–प्रदान गर्ने कार्य गरिन्छ । पाकेको नयाँ अन्नबाट मीठा–मीठा परिकार बनाएर खाने, खुवाउने गरिन्छ । त्यसैले चासोक तङ्नामलाई सामाजिक सद्भाव कायम गर्ने पर्वको रूपमा पनि लिइन्छ ।

चासोक तङ्नामलाई ऋतु परिवर्तनको सङ्केतको रूपमा पनि लिइन्छ । पैंयुँ फुलेपछि उँधौलीयाम शुरु भएको मानिन्छ । त्यसैले यसलाई उँधौली पर्व पनि भनिन्छ । उँधौली लागेपछि चराचुरुङ्गी र माछाहरू न्यानो खोज्दै माथिबाट उँधो अर्थात् तल्लो क्षेत्रमा झर्ने विश्वास गरिन्छ । यसरी जाडोयाम छल्न तल्लो क्षेत्रमा झरेका चराचुरुङ्गी र माछाहरू वैशाखे पूर्णिमादेखि उँभौली याम शुरु भएसँगै गर्मी हुने स्थान छाडेर शितल खोज्दै पुनः माथितिर उक्लिन्छन् भनिन्छ ।

आफूलाई किराती भनेर चिनाउने राईहरूले ‘साकेला/साकेन्वा’, सुनुवारहरूले ‘स्याँदर’ र याक्खाहरूले ‘चासोवा’ को नामले मनाउने यो चाडलाई लिम्बू जातिले ‘चासोक तङ्नाम’ को नामले धुमधामसँग मनाउने गर्दछन् । मङ्सिरे पूर्णिमाको दिनदेखि शुरु हुने उँधौली अर्थात् चासोक तङ्नामको रौनक पूर्वमा १५ दिनसम्म चल्ने गर्दछ ।