विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ठाकुरप्रसाद ज्ञवालीले समयानुकूल प्रहरीलाई दिइने तालिममा परिवर्तन ल्याएर अब नागरिकमुखी प्रहरी उत्पादन गरिनुपर्ने बताएका छन् । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको ५४ औं वार्षिक उत्सव कार्यक्रममा शुक्रबार बोल्दै डिआइजी ज्ञवालीले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले अनुशासन प्रहरी सङ्गठनको गहना भएकोले नागरिकमुखी प्रहरी बन्नुपर्नेमा जोड दिए । यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रूपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न उनले निर्देशन पनि दिए । कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह–समादेशक डिएसपी सुनिलकुमार दाहालले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समयानुकूल आफ्नो जिम्मेवारी एवम् कर्तव्य पालना गर्नसक्ने व्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गरिँदै आएको बताए ।

आधारभूत, उन्नत, अनुशिक्षण तथा प्रत्यास्मरणसमेत गरी कुल ७५ हजार २ सय १ जना प्रहरी अधिकृत तथा जवानहरूलाई प्रशिक्षित गराएको उनले जानकारी दिए । तालिम केन्द्रले उत्कृष्ट काम गर्ने ४ जना प्रहरी कर्मचारी तथा वाह्य प्रशिक्षकको रूपमा सहयोग गर्नेहरूलाई नगदसहित पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

पूर्व प्रहरी निरीक्षक देवेन्द्र बोगटीलाई नगद पुरस्कार तथा सम्मान–पत्रले पुरस्कृत गरियो । सोही अवसरमा महिला तथा पुरुष, म्युजिकल चेयर तथा हण्डीफोर र पिलो फाइटमा प्रथम तथा द्वितीय खेलाडीहरूलाई समेत पुरस्कार वितरण गरियो ।

कार्यक्रममा फुटबल, बास्केटबल र महिला तथा पुरुष २ माइल दौडतर्फका विजेता तथा उपविजेता खेलाडीहरूलाई तालिम केन्द्रका समादेशक एसएसपी पुरुषोत्तम कडेलले पुरस्कार वितरण गरेका थिए । टेबुलटेनिस, ब्याडमिण्टन तथा बाधापार प्रतोयोगिताका विजेता तथा उपविजेतालाई सशस्त्र प्रहरी गण मुख्यालय रानीका गणपति सुदीपराज भण्डारीले पुरस्कृत गरे ।