आफ्ना साथीसङ्गीसँग हातमा स्मार्टफोन बोकेर सेल्फी खिच्ने, रोमाञ्चक उपन्यास, कथा कविता पढ्ने, सुन्दर रमणीय स्थल भ्रमण गर्ने कल्कलाउँदो उमेर हो झापा बिर्तामोड–८ सखरबाडीकी २१ वर्षीया सावित्रा कट्वालको । तर, उनी एकदशकदेखि ओछ्यानबाट चलमलाउन सकेकी छैनन् । एउटै ओच्छ्यानमा एक दशक समय काट्नु कति पीडादायक भएको होला, त्यो सावित्राले मात्र महसुस गरेकी छिन् । नौ वर्षको उमेरमा टाँडेघरबाट झरेपछि टाउकोमा चोट लागेको थियो । तर, टाउकोमा लागेको चोटले विस्तारै कम्मर मुनिको भाग नहल्लिने बनाएपछि उनी अपाङ्ग बनिन् । कक्षा ६ सम्म मुस्किलले पढिन् तर चटपटाउनै नसक्ने भएपछि उनको पढेर ज्ञानी बन्ने सपना सबै तुहियो । उनको परिवारले छोरीको उपचारकालागि धेरै चिकित्सक, अस्पताल धाए । यता पो ठीक हुन्छ कि उता पो ठीक हुन्छ भन्दै अस्पताल धाउँदा तीनलाख रूपैयाँ पनि स्वाहा पारे । चिकित्सकहरूले अझै भनिरहेका छन्, ‘सावित्रालाई उपचार गर्न सके उनी निको हुन सक्छिन् ।’

तर, त्यसकालागि कम्तिमा १५ लाख रूपैयाँ चाहिन्छ ।सम्पतिका नाममा गाउँमा १५ धुर जग्गामा सानो घर मात्र भएका कट्वाल परिवारले कहाँबाट ल्याउने १५ लाख रूपैयाँ ? सावित्राकी आमा युमना र बुवा गणेश १५ लाख रूपैयाँ सम्झेर रातदिन तनावमा समय गुजारी रहेका छन् । उनीहरू सहयोगी मन खोजीरहेका छन् । मनकारी मान्छे खोजी रहेका छन् । तर, पनि पहुँच नहुँदा, आइडिया नपुग्दा, स्वार्थी दुनियामा सोझो सिधा भएर बसेकाले न स्थानीय सरकारले चासो दियो, न अरूले । कुनै कारणले रोगी वा घाइते भएपछि उपचार गर्न नसकी ओच्छ्यानमा पीडा अँगालेर बस्नु नै गरिबको भाग हो त ? आर्थिक रूपले विपन्न हुनु नै पाप बनेको यो समाजमा सावित्राको उपचारका लागि मन भएका निस्वार्थी परोपकारी मान्छे अभाव भएको हो त ? राज्यले ‘शिक्षा र स्वास्थ्यलाई संविधानमै मौलिक हक अधिकार’ को रूपमा व्याख्या गरेको छ । त्यसो भए यो संविधान सावित्रा जस्तो पीडामा बस्नेहरूका लागि कागजी खोस्टामात्र बनेको हो ? त्यसो भए किन चाहियो संविधान ? सावित्राको ठाउँमा कुनै नेता, मन्त्री, राष्ट्रपति भएका भए पक्कै पनि विदेशको महँगो अस्पतालमा पु¥याइन्थ्यो होला । अनि विषेशज्ञ चिकित्सकले उपचार गर्थे होलान् ।

यहाँ उदाहरण लिइरहन जरुरी छैन । सबैले देखे, जाने, बुझेका छन् नेपालमा कस्ता कस्ता नेता मन्त्रीहरूले राज्यको भण्डारबाट आफ्नो उपचार गर्न विदेश पुगे भनेर । कतिपयलाई त उपचार खर्च नमागी पनि राज्यले दिएको उदाहरण छ । तर, पहुँच नभएका, आफ्नो भोगाइ, पीडा, अवस्था, भन्न नसक्ने, व्यक्त गर्न नसक्ने, नजान्ने, सोझा सिधा गाउँले सावित्राहरूका लागि राज्यबाट उपचार खर्च पाउनु भनेको ‘आकासको फल, आँखा तरि मर’ सावित भएको छ । हुनेखाने र नेता मन्त्रीका लागि १५ लाख रूपैयाँ बास्तबमा केही होइन । सामाजिक सञ्जालमा ‘फलाना बचाऔं अभियान’ चलेका देखिन्छन् । तर, सावित्राका लागि त्यो सामाजिक सञ्जालमा फलाना बचाऔं अभियान सञ्चालन गर्ने मनकारीहरू किन टाढा भए ? थोपा थोपा गरेर समुद्र बन्छ । सवै मनकारी हातहरूले एकसाथ आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गरे १५ लाख रूपैयाँ मात्र होइन ५० लाख नै सङ्कलन हुनसक्छ । र, त्यो रकमले एकदशकसम्म ओच्छ्यान परेकी सावित्राको उपचारसँगै जीविकाको नयाँ बाटो पनि खुल्न सक्छ । पक्कै पनि बिर्तामोडको स्थानीय सरकारले सर्वसाधारण जनताको स्वास्थ्य उपचारका लागि भनेर केही न केही त बजेट विनियोजन गरेकै होला । त्यही बजेटको थोरै प्रतिशतमात्र सावित्राको नाममा उपचार कोष राखेर सावित्रा उपचार कोषका लागि स्थानीय अगुवा भद्र भलाद्मीहरूले मानवीय अभियान शुरु गर्न सक्दैनन् र? कि झापा विर्तामोडका जनप्रतिनिधि, कर्मचारी, स्थानीय व्यापारी, व्यवसायी, विद्यालयका शिक्षक विद्यार्थी, स्थानीय समुदाय स्वार्थी मात्र हुन् ? पक्कै होइनन् । मन भएकै मनुवाहरू हुन् । प्रश्न उठ्न सक्छ, को हो र सावित्राका लागि उपचार खर्च सङ्कलन गर्ने जिम्मा लिने ? उत्तर सरल छ, सावित्रा कोही होइनन् । उनी कुनै नेता मन्त्री पनि होइनन् । सेलिव्रेटि पनि होइनन् । सामाजिक योगदान दिएकी युवती पनि होइनन् । तर, हुन नेपाली नागरिक । नेपली चेली । नेपाली युवती । जसको पहिचान र सम्पतिको नाममा गरिबी मात्र छ । यसर्थ, बिर्तामोडबाट उनलाई बचाउने अभियान धरान, विराटनगर हुँदै काठमाण्डौ पोखरा पु¥याउन सकिन्छ । विदेशमा रहेका लाखौं मनकारी नेपालीहरूबाट पनि सहयोग प्राप्त गर्न सकिन्छ । तर, कसै न कसैले उनलाई बचाउनका लागि सहयोगको हात अगाडि बढाउन जरुरी छ । को को हुनुहुन्छ सावित्राको उपचारका लागि सहयोग गर्ने मनकारी दाताहरू ?