मधुमल्ला/ झापाको बाहुनडाँगीदेखि पश्चिमको डढेलधुरा जोड्ने मदन भण्डारी राजमार्गको निर्माण प्रक्रियालाई परिमाजर्न गर्न मिक्लाजुङ गाउँपालिकाले सुझाव दिएको छ ।

मदन भण्डारी राजमार्ग आयोजनाले वातावरणीय परीक्षण प्रतिवेदन आईईई का सम्बन्धमा लिखित उत्तर पठाएको छ । प्रतिउत्तरमा मोरङको मिक्लाजुङ गाउँपालिकाले लेटाङको जाँते मदन चोक हुँदै मिक्लाजुङको वडा नं. ५ धानखेती–चण्डालचोक,कालिझोर, सुन्दरी चोक हुँदै बक्राहा नदीको पुल जोडने गरी राजमार्ग निर्माण प्रक्रिया अगाडि बढाउँदा उपयुक्त हुने प्रतिउत्तर पठाएको छ ।

यस अघि परियोजनाले मदन भण्डारी राजमार्गको मिक्लाजुङको धानखेती, माने हुँदै मावा खोलाको पुलमा जोड्ने गरी डिपिआर गरेको बताइएको छ । परियोजनाले डिपिआर गरेको क्षेत्रबाट राजमार्ग निर्माण गर्दा व्यापक रूपमा वन फँडानी हुने र त्यसले वातावरणीय पर्यावरण साथै जीवजन्तुको वासस्थानमा समेत ठुलो असर पर्ने भन्दै त्यसको मिक्लाजुङ क्षेत्रमा चर्काे विरोध भइरहेको छ ।

पुरानै स्थानबाट राजमार्ग निर्माण प्रक्रिया अगाडि बढे सशक्त प्रतिकारमा उत्रने मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले सार्वजनिक रूपमै बताउँदै आएका छन् । २५–३० हजार जनसङ्ख्या भएको मानव बस्तीलाई बाईपास गरी जङ्गलबाट राष्ट्रिय गौरवको आयोजना निर्माण गर्नु उपयुक्त नहुने साम्बाले बताए ।

स्थानीयहरूको आक्रोस पनि उस्तै छ । वर्र्षाैंपछि चुरे गाउँ समेट्दै राष्ट्रिय गौरवको आयोजना निर्माण हुने आशा गरेका स्थानीयहरू कुनै पनि हालतमा बस्तीलाई बाईपास गरेर राजमार्ग निर्माण गर्न नहुने बताउँदै आएकाछन् । सरकारले र परियोजनाले गम्भीर बनिदिनु प¥यो । जनतालाई सेवाबाट विमुख बनाएर सडक निर्माण कार्य अगाडि बढे सशक्त प्रतिकारमा उत्रिन बाध्य हुनुपर्ने मिक्लाजुङ–३ का स्थानीय युवा गणेश भट्टराईले बताए ।

परियोजनाले अगाडि बढाएको स्थानबाट राजमार्ग परियोजना अगाडि बढाउँदा पर्यावरणलाई समेत असर पर्ने र वनको समेत विनाश हुने हुँदा परियोजना गाउँपालिकाले भनेको स्थानबाट निर्माण गर्नुपर्ने मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । जननेता मदन भण्डारीको नामबाट निर्माण हुन लागेको राष्ट्रिय गौरबको आयोजनाले जनताको जनभावना समेटेर निर्माण गर्नुपर्ने नेकपा मिक्लाजुङ्का अध्यक्ष नरेन्द्रप्रसाद ढुङ्गेल बताउँछन् ।