सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं.९ मा रहेको मारुती सिमेन्टको कामदारले रोजगारी गुमेपछि गरिन् आत्महत्यागरेकी छन् । मारुती सिमेण्ट उद्योगमा करिब १३ वर्षदेखि कार्यरत अनितादेवी पासवानले उद्योगदेखि करिब ५० मिटर पूर्वतिर ऐलानी जग्गामा रहेको सिसौको रुखमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासवानले सिमेण्ट उद्योगले कामबाट निकालेपछि आत्महत्या गरेकी हुन् । आफूसँगै गएका अन्य साथीलाई प्रवेश दिइएपनि उनलाई दुव्र्यवहार गरेपछि बिहान ११ बजेतिर पासवानले आत्महत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

पासवानलाई ६ मंसीरमा सोधेको स्पष्टीकरणको जवाफ दिइएपनि पुनः दोस्रो स्पष्टीकरण सोधिएको भन्ने थाहाँ पाएको गोलबजार ९ का वडाध्यक्ष रामपुकार कामतीले बताए । दाेस्राे पल्टको स्पष्टीकरण सोधिए लगत्तै जवाफ चित्त बुझ्दो नभएको भन्दै मंगलबारदेखि लागू हुनेगरी पासवानलाई कामबाट निकालिएको व्यहोराको पत्र उद्योगको मूल गेट नजिकै टाँसिएकाले उनलाई प्रवेश नदिंदा अपमानित महसूस गर्दै झुण्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष कामतीले बताए ।

कर्मचारी युनियनकी सदस्य समेत रहेकी पासवानसहितका कामदारहरुले तलब कटौती गरेको भन्दै उद्योग प्रशासन विरुद्ध आवाज उठाएपछि उनलाई कामबाट निकालिएको मृतककी पति रामदयाल पासवानले बताए । उद्योग प्रशासनले तलब कटौतीको विरोध भएको आन्दोलनको नेतृत्व गरेको भन्दै पासवानसहित चार कामदारसँग स्पष्टीकरण सोधिएको जनाइएको छ । स्पष्टीकरण सोधिएपछि दुई जनालाई ६ मंसिरमै निलम्बन गरिएको र पासवानसहित सम्भा यादव, मोहनप्रसाद यादव, मिथिलेश यादव र विनोद महतोलाई स्पष्टीकरण सोध्दै कामबाट निकालिएको थियो ।

पासवानको आत्महत्यापछि उद्योगमा कार्यरत मजदूर तथा कर्मचारीहरुले उद्योग अगाडि मंगलबार दिउँसो १२ बजेदेखि टायर बालेर प्रदर्शन गरे । उद्योग प्रशासन प्रमुखलाई कारबाहीको माग गर्दै सडकमै टायर बालिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब एक घण्टापछि स्थिति साम्य बनाएका थिए ।